यु–१७ साफ : नेपालको पहिलो खेल भुटानसँग

जनसम्मत
श्रावण २९, २०७९, आइतबार

नेपालले यु–१७ पुरुष साफ च्याम्पियनसीपको आफ्नो पहिलो खेलमा भुटानको सामना गर्ने भएको छ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेल भदौ २२ गते भुटानबिरुद्ध खेल्ने भएको हो।

यस्तै, नेपालले समूहको दोस्रो तथा अन्तिम खेल भदौ २४ गते भारतसँग खेल्ने छ। ६ राष्ट्रको सहभागिता रहने प्रतियोगितामा सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ।

समूह ‘बी’ मा नेपालसहित भारत र भुटान रहेका छन्। समूह ‘ए’ मा श्रीलंका, माल्दिभ्स र बंगलादेश छन्। समूह चरणको खेलपछि शीर्ष २ टोलीले फाइनलमा स्थान बनाउने छन्।

साफका लागि टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको नेतृत्वमा नेपालको बन्द प्रशिक्षण जारी छ। बन्द प्रशिक्षणमा हाल ३० खेलाडी सहभागी छन्।