राष्ट्रपति भण्डारी पोखराको ट्होटे पर्वमा सरिक

‘समाजबाट सबैखाले कुप्रथा, कुसंस्कार र पछौटेपनलाई अन्त्य गर्नुपर्छ’

जनसम्मत
भाद्र १, २०७९, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा आयोजित तमु जातिको ट्होटे पर्वमा सरिक भइन्।

तमु महिलाले लगाउने घलेक पहिरिएकी राष्ट्रपति भण्डारी ट्होटे पर्वकी आकर्षणकी केन्द्र बनेकी थिइन्।

ट्होटे पर्व विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समाजबाट सबैखाले कुप्रथा, कुसंस्कार, अन्धविश्वास र पछौटेपनलाई अन्त्य गर्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘यस्तो राम्रो परम्परा र चलनलाई अब हामीले भूत, रोगव्याधी र दु:ख मात्रै फाल्ने होइन, हाम्रो समाजबाट सबै प्रकारका कुप्रथा, कुसंस्कार, अन्धविश्वास र पछौटेपन अन्त्य गर्न पनि यो पर्वले ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु।’

राष्ट्रपति भण्डारीले नेपालीको पहिचान दिने यस्ता ट्होटे सांस्कृतिक पर्वहरूलाई संरक्षण, संबद्र्धन गर्दै जानुपर्ने हाम्रो दायित्व भएको बताइन्। सांस्कृतिक पर्वहरुलाई भावी पुस्ताले पनि निरन्तरता दिनेमा उनले विश्वास व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले नेपाल राष्ट्रको एकीकरण प्रक्रियामा गुरुङ समुदायको विशेष योगदान रहेको समेत औंल्याइन्।

उनले राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र मुलुकलाई समृद्धिको बाटोमा लैजान सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको प्रष्ट पारिन्। कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो।