पोखरामा यस वर्ष पनि ताया:मचा नृत्य प्रतियोगिता हुँदै

जनसम्मत
भाद्र १, २०७९, बुधबार

पोखरामा यस वर्ष पनि ताया:मचा नृत्य प्रतियोगिता हुने भएको छ।

नेवा: खल कास्कीको आह्वान तथा मोहरिया–सिंहनाथ टोल ताया:मचा समिति पोखराले ताय:मचा नाचको आयोजना गर्न लागेको हो।

यही भदौ ४ गते शनिबार पोखराको प्रसिद्ध विन्ध्यबासिनी मन्दिर प्राङ्गणमा रहेको विन्ध्यबासिनी पार्कमा प्रतियोगिता हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा २३ समूहले भाग लिने आयोजक मोहरिया–सिंहनाथ टोल ताया:मचा समितिका अध्यक्ष शिवप्रसाद श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा २३ समूहमध्ये ५ महिला नृत्य समूहले समेत सहभागिता जनाउनेछ।

प्रतियोगिताको बिजेतालाई ३५ हजार, उपबिजेतालाई २५ हजार, तेश्रो हुनेलाई १५ हजार र सान्त्वना हुने एक समूहलाई ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक मोहरिया–सिंहनाथ टोल ताया:मचा समितिका अध्यक्ष श्रेष्ठले बताए।

त्यस्तै, उत्कृष्ट महिला समूहलाई ११ हजार, उत्कृष्ट वाद्यवादन समूहलाई ५ हजार तथा उत्कृष्ट जोकरलाई २ हजार ५ सय प्रदान गरिनेछ।
लोपोन्मुख ताया:मचा नाचको संरक्षण गर्दै नेवारी परम्परा र संस्कृति बचाउने उद्देश्यले ताया:मचा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

लोपोन्मुख संस्कृति र परम्परा जोगाउँदै नया पुस्तालाई ताया:मचा नृत्यप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिदै आएको नेवा खल: कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । उनका अनुसार २०५४ सालबाट सुरु भएको ताय:मचा नृत्य प्रतियोगिता यसपटक २४ औं पटक हुन लागेको हो। पालिखेले ८ वटा समूहबाट सुरु भएको प्रतियोगितामा अहिले सहभागी संख्या बढेपनि पछिल्ला वर्षहरुको तुलनामा केही समूह घटेको बताए।