अन्नपुर्ण केबलकार पुरानो टुँडिखेल तीजमेलाका उप प्रायोजक

जनसम्मत
भाद्र ३, २०७९, शुक्रबार

अन्नपूर्ण केबलकार पोखराको पुरानो टुँडिखेल तीज मेलाको उपप्रायोजक बन्ने भएको छ।

इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउँदो १० देखि १६ भदौसम्म चल्नेछ्।

पोखरा १८ सेदीस्थित केबलकारको कार्यालयमा आयोजित एक कार्यक्रममा आयोजक केन्द्रका तर्फबाट अध्यक्ष भानुभक्त अधिकारी र तीजमेलाका आर्थिक संकलन उपसमितिका संयोजक बालकृष्ण कोइराला एंव केबलकारका तर्फबाट संचालक एवं निर्देशक तीर्थराज त्रिपाठीले हस्ताक्षर गरे।

हस्ताक्षरपछि निर्देशक त्रिपाठीले केबलकारले आफनो सेवा सुरु गरेसँगै विभिन्न सामाजिक कामहरुसँगै संघसंस्थालाई सहयोग गर्दै आएको बताए। आफूहरुले सकेको सहयोग अन्य सामाजिक कार्यसमेत गर्दै जाने त्रिपाठीले बताए। कुनै काम सफल हुनमा एकले अर्कालाई सहयोग गर्नुपर्ने भन्दै नेपाली महिलाहरुको महान पर्व तीजका अवसरका आयोजना हुने मेलामा जोडिन पाउँदा खुशी लागेको उल्लेख गरे।

केन्द्रका अध्यक्ष अधिकारीले आफूहरु आयोजक मात्र भएको भन्दै केबलकार जस्तै दाताहरुको साथ र सहयोगले मेला सम्पन्न हुने बताए। नेपाली कला संस्कृतिको संरक्षणसँगै पोखरा–१ स्थित गाईघाट क्षेत्रमा केन्द्रले निर्माण गर्दै गरेको कृयापुत्री भबन निमार्णका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यसमेत लिएको छ।

प्रबेश नि:शुल्क रहेको मेलामा मौलिक तीजगीत प्रतियोगिता, तीज गृहणी नृत्य प्रतियोगिता, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय छेलो लगायतका प्रतियोगिताहरु हुनेछ। मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैंक तथा वित्तिय संस्था, लत्ताकपडा, रेष्टुरेन्टलगायतका विभिन्न स्टलहरुसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती र वालउद्यान समेत रहनेछ।

नेपाली मौलिक कला र संस्कृतिलाई जगेर्ना गर्दै करिब २ दशक अघिदेखि तीज गीत प्रतियोगिता गर्दै आएको केन्द्रले ३ वर्षअघि ०७६ सालमा पहिलो पटक तीजमेला आयोजना गरेको थियो। केरोनाका कारण गएको २ वर्ष हुन नसकेकोको मेलालाई यस वर्षदेखि निरन्तरता दिन लागेको अध्यक्ष अधिकारीले जानकारी दिए।