नवौँ राष्ट्रिय खेलकुदलाई गण्डकी प्रदेश सरकारले साढे ३ करोडको बजेट छुट्टायो

जनसम्मत
भाद्र ४, २०७९, शनिबार

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले ३ करोड ४६ लाख रुपैयाँ दिने भएको छ।

प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोट लगायतका लागि अर्थमन्त्रालयले बजेट उपलव्ध गराएको हो।

प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बताएका छन्। खेलकुद मन्त्रालयले प्रदेशमा राष्ट्रिय खेलकुदको तयारीका लागि ५ करोड रुपैयाँ माग गरेपनि अर्थले हालका लागि सो रकम उपलव्ध गराएको हो।

राष्ट्रिय खेलकुदका लागि भनेर चालू आर्थिक वर्षको बजेट कार्यक्रममानै प्रदेश सरकारले १ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो। अर्थमन्त्रालयले बजेटमा व्यवस्था गरिएको बाहेक थप बजेट खेलकुद मन्त्रालयलाई उपलव्ध गराएको हो।

अर्थमन्त्री बरालले राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदमा गण्डकीका टोलीको प्रशिक्षण, तयारी र आधारभूत आवश्यकताका लागि बजेट अभाव हुन नदिने उल्लेख गरे। उनले भने, ‘राष्ट्रिय खेलकुदका लागि बजेट अभाव हुन दिँदैनौँ। अहिले निकासा गरिएको रकममा थप बजेट आवश्यक परेमा पुन: बजेट दिन्छौँ। खेलाडीलाई आधारभूत सुविधामा बजेट अभावले कुनै पनि कमी हुन दिँदैनौँ।’

आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश सरकारले खेलाडी प्रशिक्षण सुरु गरेको छ। प्रदेश खेलकुद परिषद्ले शुक्रबारदेखी पहिलो चरणमा १४ वटा खेलको विशेष प्रशिक्षण सुरु गरेको हो। विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडीहरु छनोट गर्ने परिषद्ले जनाएको छ।

राष्ट्रिय खेलकुदमा ३६ र थप २ प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रधिस्पर्धा गर्नेछन्। सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलको विशेष प्रशिक्षण संचालन भएको हो।

प्रदेश खेलकुद परिषद्ले बाँकी २२ खेलका लागि दोस्रो चरणमा जिल्ला छनोट प्रतियोगिता हुने जनाएको छ। जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ। यही भदौ ९ देखि १२ गतेसम्म जिल्ला छनोट प्रतियोगिता संचालन गरिने सदस्य सचिव तेज गुरुङले बताएका छन्।