नवौं राष्ट्रिय खेलकुद : कास्कीमा खेलाडी छनोट सुरु

जनसम्मत
भाद्र ८, २०७९, बुधबार

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा खेलाडी छनोट प्रक्रिया सुरु गरिएको छ।

यही असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं संस्करणको खेलकुद प्रतियोगिताका लागि कास्कीले (बुधबार) बाट खेलाडी छनोट प्रक्रिया सुरु गरेको हो।

कास्की जिल्ला खेलकुद विकास समितिले बुधबार ब्याडमिन्टन खेलाडीको छनोट गरेको हो।

कास्की जिल्लाबाट ब्याडमिन्टनका लागि ७ पुरुष र ४ महिला गरी ११ खेलाडीहरु छनोट गरेको छ।

पुरुषतर्फ भूगोल गुरुङ , बिधान अधिकारी, विशाल खड्का शशांक अधिकारी, ईशान खड्का, शम्भुकुमार श्रेष्ठ र यासिक्सन गुरुङ छनोट भएका छन्। भूगोल र बिधान ब्याडमिन्टनका राष्ट्रिय खेलाडी हुन्। उनीहरु दुबैले गण्डकी प्रदेशस्तरीय छनोटका लागि वाइल्ड कार्ड पाएको अफिसियल ज्ञानेन्द्र भण्डारीले बताए। कार्कीका अनुसार १० जनाले प्रदेशस्तरीय छनोटका लागि १० जनाले प्रतिस्पर्धा गरेका थिए।

त्यस्तै, महिलातर्फ यमकुमारी गुरुङ, आकृति केसी, आयुष्मा नेपाल र शितल केसी छनोट भएका छन्। महिलाकी यमकुमारी राष्ट्रिय खेलाडी हुन्। ब्याडमिन्टनको राष्ट्रिय वरीयतामा यमकुमारी ८ औं स्थानमा छिन्।

कास्की जिल्ला खेलकुद विकास समितिकी सदस्य मनिषा गुभाजू, कास्की जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष बिशाल खड्का, अफिसियलहरु ज्ञानेन्द्र भण्डारी, बीरबहादुर आले, ईच्छा गुरुङ र रबीचन्द्र होनासहितको समितिले खेलाडी छनोट गरेको हो।

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रत्येक टोलीबाट ब्याडमिन्टनमा पुरुषतर्फ ७ र महिलातर्फ ५ जनाले प्रतिनिधित्व गर्नेछन्। गण्डकी प्रदेश अन्तर्गतका जिल्लाबाट छनोट भएका खेलाडीहरुले यही भदौको १५ देखि १८ गतेसम्म हुने प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अफिसियल रबीचन्द्र होनाले बताए।

कास्की जिल्ला खेलकुद विकास समितिले प्रदेशस्तरिय जिल्लास्तरिय छनोट प्रक्रियाका लागि कार्यतालिका प्रकाशित गरिसकेको कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरण बानियाले बताएका छन्।

आज (बुधबार, भदौ ८ गते) ब्याडमिन्टन र एथ्लेटिक्सका खेलाडी छनोट गर्ने कार्यतालिका भएपनि एथ्लेटिक्सको छनोट भने हुन सकेन।
कास्की जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष हरि बरुवालले प्राविधिक समस्याका कारण निर्धारित मिति आज खेलाडी छनोट हुन नसकेपनि बिहीबार एथ्लेटिक्स खेलाडी छनोट गर्ने जनाए।

कास्की जिल्ला खेलकुद विकास समितिले प्रकाशित गरेको जिल्लास्तरिय खेलाडी छनोट कार्यतालिकाअनुसार भोली बिहीबार भदौ ९ गते एथ्लेटिक्स, टेबल टेनिस, क्रिकेट, र तेक्वान्दोको खेलाडी छनोट गर्ने कार्यक्रम छ।

त्यस्तै, शुक्रबार, भदौको १० गते कराँते र फुल कन्याक्ट कराँतेको छनोट गर्ने कार्यतालिका छ।

त्यसैगरि, भदौको ११ गते फुटबल खेलाडी छनोट गर्ने कार्यतालिका छ।

त्यस्तै, १२ भदौमा भलिबल, कबड्डी, बक्सिङ, रग्बी, आइटीएफ, जुडो र भारोत्तोलनका खेलाडी छनोट गर्ने कार्यतालिका छ।

त्यसैगरि, १३ भदौमा बास्केटबलका खेलाडी छनोट गर्ने कार्यक्रम छ।

यसैगरि, १४ भदौमा शारिरीक सुगठन, जिम्न्यास्टिक, सेपाकताक्रो र बुद्धिचालका खेलाडी छनोट गर्ने कार्यक्रम छ।

जिल्लाबाट छनोट भएका खेलाडीहरुले भदौको १५ देखि १८ गतेसम्म प्रदेशस्तरिय छनोटका लागि प्रतिस्पर्धा गर्ने कार्यतालिका छ।

यही भदौको २५ गतेभित्रमा खेलाडी र प्रशिक्षकको नाम दर्ता र असोजको १० सम्ममा खेलगत इभेन्ट, खेल समयतालिका, खेलस्थलको जानकारी गराउने आयोजक राखेपको कार्यक्रम तालिका छ।

हेर्नुहोस, छनोट खेल कार्यतालिका