खप्तड लघुवित्त आइपीओको पहिलो दिनमै मागभन्दा ३५ गुणा बढी आवेदन

जनसम्मत
भाद्र ८, २०७९, बुधबार

खप्तड लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन खुलेको पहिलो दिनमा नै मागभन्दा ३५ गुणा बढी आवेदन परेको छ।

आज (बुधबार)देखि १ लाख २३ हजार ४ सय कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरिएकोमा पहिलो दिन नै ४३ लाख ३८ हजार ९४० कित्ता माग भएको सीडीएस एनुड क्लिएरिङ लिमिटेड (सीडीएससी)ले जनाएको छ।

बुधबार साँझ ५ बजेसम्म ३ लाख ८१ हजार ७८२ जना आवेदन दिएको सीडीएससीले जनाकारी दिएको छ। लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको हो।

निष्कासन गरिएको कुल सेयरमध्ये दुई हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६ सय कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ। बाँकी १ लाख २३ हजार ४ सय कित्ता आइपीओमा आवेदकले भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार ३ सय २० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ। ईच्छुक आवेदकले मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन्। यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन्।