१३ भदौदेखि पोखरामा भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिदैं

जनसम्मत
भाद्र ८, २०७९, बुधबार

कास्कीमा भदौ दोश्रो हप्ताबाट भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने भएको छ।

भूमि आयोग कास्कीले भदौ १३ गतेबाट भूमिहीन र सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको हो।

आयोगले पहिलो दिन ५० भन्दा बढीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार करीब २ सयको लालपूर्जा दिन तयारी अवस्थामा पुगेको छ।

लालपूर्जा वितरणको तयारी स्वरुप आयोगले निस्सा वितरण शुरु गरेको छ। आयोगले जग्गाधनी पूर्जा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा पोखराका विभिन्न वडामा वितरण गरिसकेको छ। भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले दिएको निवेदनका आधारमा प्रक्रिया पूरा गरेर निस्सा वितरण शुरु गरिएको अध्यक्ष पोखरेलले बताए।

पोखरेलका अनुसार पोखरा–२५ का २४२ जना दलित तथा सुकुम्बासीलाई निस्सा प्रदान गरिएको छ। आयोग कास्कीले भदौ भित्रमा कास्कीका सबै निवेदकलाई निस्सा वितरण गरिसक्ने उनले बताए।

आयोग कास्कीका अनुसार पोखरा महानगरपालिकामा १९ हजार ६ सय ३४ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले लालपूर्जा प्राप्तिका लागि निवेदन दिएका छन्। महानगरमा निस्सा वितरण शुरु भएपनि जिल्लाका अन्य पालिकाहरुमा भने निस्सा वितरण शुरु भइसकेको छैन। बाँकी पालिकाहरुमा अहिले लगत संकलनका लागि आवेदन दर्ता लिने काम काम भइरहेको छ। आयोग कास्कीका अध्यक्ष पोखरेलले माछापुच्छ«े, मादी र रुपा गाउँपालिकामा भूमिहीनहरुको लगत संकलनको काम आगामी असोज ४ गतेसम्म संचालन हुनेछ।

भूमि आयोग कास्कीले पोखरा महानगरपालिकामा भूमिहीन सुकुम्बासी ४ हजार १ सय ८३, भूमिहीन दलित ३ हजार ५ सय ५३ तथा अव्यवस्थित बसोबासी ११ हजार ८ सय ९८ जनाको निवेदन परेको जनाएको छ।