प्रधानमन्त्री देउवा–प्रतिपक्ष नेता ओलीको भेटघाट

एमालेमाथि निषेधको राजनीति नगर्न प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको आग्रह

जनसम्मत
भाद्र ८, २०७९, बुधबार

सत्तारुढ दलका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीबीच बुधबार भेटघाट गरेका छन्।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको आज (बुधबार) बिहान भेटवार्ता भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष ओलीले विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रतिस्पर्धाको राजनीतिलाई अन्यथा नमानी प्रतिपक्ष दलमाथि निषेधको राजनीति गर्न नहुने बताएको भेटमा सहभागी एमाले नेताहरुले बताएका छन्।

प्रधानमन्त्री देउवासँग अध्यक्ष ओलीले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग सम्बन्धी प्रतिनिधिसभामा पेश गरिएको विधेयक, राष्ट्रपतिले सन्देशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पास गरिएको विषयमा प्रतिपक्ष दलसँग छलफल नभएकोमा ध्यानाकर्षण गराएका थिए।

यसैगरी, अध्यक्ष ओलीले मंसीर ४ गते हुने निर्वाचन भयरहित वातावरणमा निष्पक्ष रुपमा सम्पन्न गर्न वातावरण बनाउनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीले उठाएको विषयहरूलाई आफूले सकारात्मक रुपमा लिएको र सत्ता गठबन्धनमा पनि त्यसबारे छलफल गर्ने बताएको श्रोतले बताएको छ।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीचको भेटवार्तामा काँग्रेस नेता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले उपाध्यक्षहरू सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी थिए।