ज्यालाको विरोधमा उत्रिएका श्रमिकलाई कतारद्वारा देश निकाला

जनसम्मत
भाद्र ९, २०७९, बिहीवार

कतारले ज्याला नपाएकोमा विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरेको छ।

कम्तीमा ६० जना श्रमिकहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेश्नल ग्रुपको दोहा कार्यालयसामु अगस्ट १४ मा र्‍याली गरेका थिए।

तीमध्ये कतिपयले ७ महिनादेखि ज्याला नपाएको गुनासो छ। लगत्तै केही कामदार पक्राउ गरिएको र केहीलाई देशबाट निकाला गरेको पाइएको बीबीसीले जनाएको छ।

तर, निकाला गरिएका कामदारको संख्या थाहा हुन सकेको छैन। इक्वीडेम नामक मानवअधिकारवादी संस्थाका अनुसार त्यसरी निकालिनेमा नेपाल, बंगलादेश, भारत, इजिप्ट र फिलिपिन्सका श्रमिकहरु छन्। कतारको सरकारले निकालिने कामदारहरूले ‘सुरक्षा कानुन’ तोडेको बताएको छ।

सन् २०१० मा कतारले विश्वकप फुटबल आयोजनाको अधिकार पाएपछि रंगशाला तथा अन्य पूर्वाधार निर्माण थालिएको थियो। कतारले आउँदो नोभेम्बर महिनामा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ। अल बन्दारी इन्टरनेश्नल ग्रुप नामक कम्पनी खासगरि निर्माण तथा इन्जिनियरिङमा संलग्न छ। कतारले अल बन्दारी ग्रुप यसअघिदेखि नै कामदारलाई ज्याला नदिएका उजुरीहरूका कारण अनुसन्धानको घेरामा परिसकेको बताएको छ।