परीक्षाका लागि तयार रहनुस् : लोक सेवा आयोग

जनसम्मत
भाद्र ९, २०७९, बिहीवार

लोक सेवा आयोगले यसअघि रोकिएका परीक्षा तत्कालै अघि बढाउने भन्दै तयारीमा रहन परीक्षाको तयारी गरिरहेकाहरूलाई आग्रह गरेको छ।

लोक सेवा आयोगले विज्ञप्ति निकालेर कर्मचारी समायोजनसम्बन्धी रिटहरूमा सर्वोच्च अदालतको अन्तिम फैसलासँगै अब यसअघि स्थगित परीक्षा तथा नतिजा सार्वजनिक गर्ने काम यथाशीघ्र सुरु गर्ने जनाएको हो।

विज्ञप्तिमा अदालतको फैसलामा पदपूर्तिसम्बन्धी काम, कारबाही अघि बढाउन मिल्ने गरी आदेश भएका विज्ञापनका परीक्षा कार्यक्रम १५ दिनको सूचना दिएर अघि बढाइने उल्लेख छ।

विभिन्न समयमा अदालतमा दायर गरिएका निवेदनका कारण झन्डै एक हजार दरबन्दीका परीक्षा प्रभावित भएको लोक सेवा आयोगले जनाएको छ। ती सबै पदपूर्ति यही आर्थिक वर्षभित्र गरिने आयोगको भनाई छ। सर्वाेच्च अदालतले हिजो मंगलवार संघीय संरचना लागू भएपछि भएका कर्मचारी समायोजनसम्बन्धी ९८ मध्ये धेरैजसो रिटमा अन्तिम फैसला सुनाएको हो। धेरैजसो रिट खारेज भएपनि पूर्ण पाठ नआइसकेकाले पूर्ण पाठ आएलगत्तै परीक्षाका कारबाही अघि बढाउने आयोगले जनाएको छ।

संघीय संरचना कार्यान्वयनमा आएपछि प्रदेश र पालिका तहमा खटाइएका कतिपय कर्मचारीहरूले समायोजनको निर्णयविरुद्ध मुद्दा दायर गरेका थिए। यस्तै थारु समूहलाई छुट्याइएको, कोटा कम भएको भन्दै छुटै मुद्दा पनि दायर भएको थियो।

हेर्नुहोस, प्रेस विज्ञप्ती