’अग्निपथ योजना’ अनुसार नै भारतमा गोर्खा भर्ती

जनसम्मत
भाद्र ९, २०७९, बिहीवार

भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार नै हुने प्रष्ट पारेको छ।

भारतको राजधानी नयाँ दिल्लीमा आज (बिहीवार) आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने बताएका हुन्।

भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालसहित भारतका विभिन्न ठाउँमा रहेका नेपाली मूलका नागरिकलाई भर्ती गरिन्छ। यसअघि, नेपाल सरकारले नेपालीलाई अग्निपथ योजनाअनुसार भर्ती गर्न लागेको हो कि होइन भनेर स्पष्ट नभएकाले अहिले भर्ती स्थगित हुने जानकारी दिएको थियो।

परराष्ट्रमन्त्री नारायण खड्काले हिँजो (बुधवार) काठमाण्डौको भारतीय राजदूत नवीन श्रीवास्तवलाई मन्त्रालयमै बोलाएर अब भारतीय सैनिकमा नेपालीको भर्ती सन् १९४७ को बेलायत, भारत र नेपालको सम्झौताअनुसार हुने हो कि होइन स्पष्ट हुनुपर्ने बताएका थिए। परराष्ट्र मन्त्री खड्काले अग्निपथबारे स्पष्ट नभएकाले तत्काल नेपाली भर्ती नहुने बताएका थिए। तर, सरकारले यसबारेमा औपचारिक पत्र भने पठाएको छैन।

गएको असार पहिलो हप्ता भारतले सेनामा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ ’स्किम’ ल्याएको थियो। साढे १७ वर्षदेखि २३ वर्षसम्मका युवा अग्निपथ योजनाअनुसार भर्ती हुन पाउँदछन्। यो योजनाअनुसार भर्ती हुनेहरूले ४ वर्षमात्र सेवा गर्न पाउनेछन्। नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको सम्झौताअनुसार नेपालीहरू भारतीय र बेलायती सैनिकमा भर्ती हुन पाउँदछन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनमा अग्निपथअनुसार नै गोर्खा भर्ती हुने बताए पनि यसबारे नेपाललाई औपचारिक जानकारी भने भारत सरकारले दिएको छैन।