पोखराको पुरानो टुडिखेलमा तीजमेला आजबाट

जनसम्मत
भाद्र १०, २०७९, शुक्रबार

पोखरा महानगरपालिका–१ बगरस्थित पुरानो टुडिखेलमा शुक्रबार अर्थात आज (शुक्रबार) देखि ऐतिहासिक तीज मेला सुरु हुदैछ ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०७९ को अवसरमा इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउँदो १६ भदौसम्म चल्नेछ।

मेलाको गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ले उद्घाटन गर्नेछन्। उद्घाटनपूर्व मेला स्थल पुरानो टुडिखेलबाट बिभिन्न जातजाति, आमा समूह, संघसस्था, स्थानीय सहभागी झाँकीसहितका र्‍याली पुन: मेलास्थलमा आएर कार्यक्रममा परिणत हुनेछ।

प्रबेश नि: शुल्क रहेको मेलामा मौलिक तीजगीत प्रतियोगिता, तीज गृहणी नृत्य, विद्यालय स्तरीय लोक नृत्य, गण्डकी प्रदेशस्तरिय छेलो लगायतका प्रतियोगिताहरु हुने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिएका छन्।

यसैगरि, मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैंक तथा वित्तिय संस्था, लत्ताकपडा, रेष्टुरेन्टलगायत विभिन्न स्टलहरुसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती र वालउद्यान समेत रहनेछ।

अध्यक्ष अधिकारीका अनुसार नेपाली कला संस्कृतिको संरक्षण गर्नु मेलाको मुख्य उद्देश्य रहेको बताए। यसैगरि, केन्द्रले पोखरा–१ स्थित गाइघाट क्षेत्रमा निर्माण गर्दै गरेको कृयापुत्री भबन निर्माणका लागि आर्थिक सहयोग जुटाउने मेलाको उद्देश्य समेत रहेको अधिकारीले जानकारी दिएका छन्।

नेपाली मौलिक कला र संस्कृतिलाई जगेर्ना गर्दै करीव २ दशक अघिदेखि केन्द्रले तीज गीत प्रतियोगिता आयोजना गर्दै आएको केन्द्रका उपाध्यक्ष निरजविक्रम राणले जानकारी दिए। राणाकाअनुसार केन्द्रले ३ वर्षअघि ०७६ सालमा पहिलो पटक तिजमेला आयोजना गरेको थियो। केरोनाका कारण गएको २ वर्ष हुन नसकेकोको मेलालाई यस वर्षदेखि निरन्तरता दिन लागेको उनले जानकारी दिए।