म्याग्दीका केसीले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी

जनसम्मत
भाद्र १०, २०७९, शुक्रबार

रोजगारीका क्रममा दक्षिण कोरिया पुगेका म्याग्दीको बेनी नगरपालिका–६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाएका छन्।

५ महिनादेखि निरन्तर गरेको कोसिसपछि उनी चारपांग्रे गाडी बनाउन सफल भएका हुन्।

विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा ४ वटा ब्याट्री जडान गरिएका छन्। ३ देखि ४ घण्टा विद्युत चार्ज गरेपछि ४० देखि ५० किलोमिटरसम्म चलाउन सकिन्छ।

कोरियामा विगत ६ वर्षदेखि केसीले गाडी चलाउँदै आएका थिए। गाडी बिग्रिएमा उनी आफैले मर्मत गर्थे। उनी आफैले गाडी बनाउन सकिन्छ कि भनेर ५ पटक प्रयास गर्दा अहिले गाडी बनाउन सफल भएका छन्। केसीले बनाएको गाडीमा २ वटा इन्जिन जडान गरिएका छन्। २ वटा इन्जिन भएपछि गाडी सहजै गुड्न सक्छ।

केसीले गाडी बनाउने तरिका युट्यूबमा हेरेर सिकेका थिए। ५ महिनाको प्रयासपछि उनलाई सफलता मिलेको थियो। गाडीको अगाडिको भागमा २ जना बस्न मिल्ने सिट छ। पछाडिको भागमा ५ सय केजीसम्म सामान बोक्न मिल्छ।

आफैले गाडी बनाएर गुडाउँदा निकै खुसी मिलेकोमा केसी दङ्ग छन्। गाडी गुड्ने भएको छ, अब स्ट्रक्चर जडानको काम बाँकी छ। उनमा गाडी बनाउने पहिलादेखिकै रहर थियो, धेरै कोशिस गर्दा अहिले उनी सफल बनेका छन्।

वातावरण मिलेमा नेपाल फर्किएर गाडी बनाउने काम गर्ने उनको सपना छ। गाडी बनाएर चलाएको देखेर कोरियामा र नेपालमा भएका आफन्त, साथीभाइ र इष्टमित्रले उनलाई बधाइको चाङ लागेको छ।