मुद्दा मिलेका कारण माओवादीसँग तालमेल बन्यो : डा. भट्टराई

जनसम्मत
भाद्र १०, २०७९, शुक्रबार

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताएका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले शुक्रवार पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

‘आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा छौं,’ नेता भट्टराईले भने, ‘माओवादी केन्द्र पनि सोही पक्षमा रहेकाले आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल गरेका हौं।’

आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको नभई आगामी निर्वाचनका लागि तालमेल तथा कार्यगत एकता मात्रै गरेको उनले स्पष्ट पारे।

एकताको सम्बन्धमा चुनावपछि मात्रै छलफल हुने अध्यक्ष भट्टराईले बताए। माधव नेपालसहितको बृहत् समाजवादी केन्द्र निर्माणमा सहमति जुटेमा एकता हुनसक्ने उनको भनाई छ।

अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै नोट अफ डिसेन्ट लेखेको उनले स्मरण गरे। अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्विरोध रहेको स्पष्ट पारे।

‘संविधानका अपूर्णताहरु छन्। खासगरी संघीयता अपूर्ण छ। राष्ट्रपतिय प्रणाली लगायतका शासकीय सुधारका काम अपुरो छ’, डा. भट्टराईले भने।

आफूहरुको बढी एजेण्डा माओवादीसँगै मिलेको उनको भनाई थियो।