पोखरामा मनाइयो मोतीराम भट्टको १५७ औं जन्मजयन्ती

जनसम्मत
भाद्र ११, २०७९, शनिबार

पोखरामा शनिवार बिहान १५७ औं जन्मजयन्ती मनाइएको छ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले स्थापनाकालदेखि विविध कार्यक्रमका साथ मोती जयन्ती मनाउँदै आएकोमा यस वर्ष पनि विविध कार्यक्रमका साथ संस्थाले रचनावाचन तथा मोतीराम भट्टको योगदान विषयमा परिचर्चा कार्यक्रम आयोजना गरेको हो।

समारोहमा अग्रज पत्रकार उदयबहादुर अमात्य, अग्रज कलाकार यादवचन्द्र भुर्तेल, साहित्यकार डा. जगन्नाथ रेग्मी, समाजसेवी संगीत गौतम तिम्सिनालगायतले मोतीराम भट्टका विविध आयामबारे चर्चा गरे।

गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले नेपाली वाङ्मयका क्षेत्रमा जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल पृथक आयामका साथ अगाडि बढ्नु नेपाली साहित्यको श्रीवृद्धिका लागि स्तुत्य कार्य र नयाँ आयाम भएको उल्लेख गरे।

वडा नं. ३ का जनप्रतिनिधि सनकमान सिके, पत्रकार गणेशबज्र लामा, पद्मराज उदासी, असफल गौतम, गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङ, शुक्ला साहित्य प्रतिष्ठानका निवर्तमान अध्यक्ष सुमनराज पौडेललगायत विविध क्षेत्रका वक्ताले मोतीरामका विविध आयाम बारेमा चर्चा गरे।

कार्यक्रममा टेकनाथ पीडित, लक्ष्मी देवकोटा, विष्णु बास्तोला, अम्बिका भण्डारीलगायतले रचनावाचन गरेका थिए। संस्थाका महासचिव मदन भण्डारीले साहित्यको जरोटुप्पो जोगाउने जिम्मेवारी हामी सबैको भएकाले एक भएर अगाडि बढ्न आह्वान गर्दै सम्पूर्णमा आभार व्यक्त गरे।