पोखराको लामाचौरमा तीज महोत्सव सुरु

जनसम्मत
भाद्र १२, २०७९, आइतबार

पोखराको लामाचौरमा २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ आज (आइतबार) देखि सुरु भएको छ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भदौ १२ देखि सुरु महोत्सव भदौ १४ सम्म चल्नेछ।

महोत्सवको मुख्य आकर्षणको रुपमा महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता, अन्तर महिला समूह तीजगीत प्रतियोगिता, पवित्रा गणेश अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता, बाल उद्यान, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरु, झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको दैनिक प्रस्तुति छन्। महोत्सवमा विभिन्न प्रकारका करिब ५० स्टलहरु छन्।

तीजको संस्कृति रक्षासहित समग्र लामाचौर क्षेत्रको विकासका लागि आफूहरुले महोत्सवलाई निरन्तरता दिएको संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन्।

२०५४ सालमा स्थापित नव आदर्श सामुदायिक विकास समाजले हरेक वर्ष तीज अवसरमा लामाचौर तीज महोत्सव आयोजना गर्दै आएको छ। कोरोनाका कारण गएका वर्ष महोत्सव प्रभावित भएको थियो। यसपालि संस्थाको रजत जयन्ती अवसरमा भएकोले पनि संस्थाले विभिन्न व्यक्तिलाई सम्मान गरेको छ।

प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले महोत्सव उद्घाटन गर्दै नवआदर्श सामुदायिक विकास समाजले खेलकुद क्षेत्रमा गरेको योगदानको प्रसंसा गरे। उनले राज्यले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै महिला खेलाडी उत्पादनमा यसको योगदान ठूलो रहेको उल्लेख गरे।

पोखरा महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष पुस्पेन्द्र पाण्डेले संस्थाको योगदानको उच्च प्रशंसा गरे। उनले वडाबाट हुन सक्ने सहयोग गर्न सधै तयार रहेको प्रतिबद्धता समेत जनाए।

संस्थाका पूर्व अध्यक्ष तथा खेलकुद उपसमिति संयोजक सुशीलकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरे भने कार्यक्रमको संचालन सचिव थिरबहादुर थापाले गरेका थिए।संस्था अध्यक्ष रेश्मा शेरचन अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो।