३३.३६ अंकले घट्यो नेप्से परिसूचक

जनसम्मत
भाद्र १२, २०७९, आइतबार

सेयर बजार परिसूचक नेप्से फेरि २ हजार भन्दा पनि तल गिरावट आएको छ।

नेप्सेमा आज (आइतबार) ३३.३६ अंकले गिरावट आएर १ हजार ९८९.२६ को बिन्दुमा झरेको हो। यसअघि, असार अन्तिम साता पनि २ हजारभन्दा तल झरेको थियो।

बिस्तारै उकालो लागेको नेप्से गत साता २ हजार २ सयको नजिक पुगेको थियो। फेरि ओरालो लागेर नेप्से २ हजारभन्दा तल झरेको हो।

नेप्सेसँगै सबै उपसूचकमा पनि गिरावट आएको छ। आज २ अर्बभन्दा बढीको कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार, ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजारको कारोबार भएको छ।

आज कारोबार भएका १८८ कम्पनीमध्ये १८२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ५ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ।