आज तीजको दर खाने दिन

जनसम्मत
भाद्र १३, २०७९, सोमबार

आज भाद्र शुक्ल द्वितीयाका दिन अर्थात हरितालिका तीजको अघिल्लो दिन (दरखाने) दिन।

हरितालिका तीजको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ।

तीजको व्रतका लागि शक्ति प्राप्त होस् भनेर भाद्र शुक्ल द्वितियामा दर खाने चलन छ। राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिन बिहान गणेश पूजा गरी सूर्यलाई अर्घ दिएर मात्र खाने परम्परा छ।

धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितियाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ।
तीजको व्रत पतिको आयुका लागि मात्र बस्ने गरिएको भनी गलत प्रचार गरी शास्त्रीय मान्यता नबुझी धर्मलाई गाली गरिएकोमा सत्य कुरो बुझ्नतर्फ लाग्न संस्कृतिकर्मीले अनुरोध गरेका छन्।

तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार खुवाउने चलन छ। दर खाने दिनबाट तीज पर्वको सुरु हुन्छ। दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ।

सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म नपिई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो।