लामाचौर तीज महोत्सव : राष्ट्रिय भलिबल प्रतियोगिता जारी

भाली (मंगलबार) देखि सेमिफाइनलका खेल हुने

जनसम्मत
भाद्र १३, २०७९, सोमबार

२४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता जारी छ।

प्रतियोगितामा पुरुषतर्फ एपीएफ, गण्डकी प्रदेश टिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएका छन्।

समूह ‘बी’ मा रहेको बुटवलको मणिमुकुन्द भलिबल क्लब २ खेल हार्दै घर फर्कियो। समूह ‘ए’ बाट गण्डकी विजेता र समूह ‘बी’ बाट नेपाल पुलिस क्लब विजेता बन्दै विजयी यात्रा कायम राखेका हुन्।

सोमबार गण्डकीले आर्मीलाई ३–२ सेटमा १९–२५, २५–१५, २०–२५, २५–२३ र १७–१५ ले हराएको हो। यस्तै, नेपाल पुलिस र एपीएफबीचको खेलमा पुलिसले ३–२ सेटमै नतिजा आफ्नो पक्षमा पारेको छ। पुलिसले एपीएफलाई २५–१९, १७–१५, २५–२१, २१–२५ र १५–१० मा हराएको हो।

मंगलबार पुरुषतर्फ पहिलो सेमिफाइनल १२ बजे गण्डकी र एपीएफबीच हुनेछ भने दोस्रो सेमीफाइनल दिउँसो २ बजे नेपाल पुलिस र आर्मीबीच हुने भलिबलकी राष्ट्रिय रेफ्री शान्ति गुरुङले जानकारी दिइन्।

प्रतियोगितामा महिलातर्फ सहभागी ४ टिममध्ये समूह ‘ए’ बाट नेपाल पुलिस र समूह ‘बी’ बाट न्यूडायमण्ड समूह विजेता बनेका छन्। सोमबारको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशको टिमलाई सोझो सेटमा हरायो। प्रतियोगितामा २५–१६, २५–१९ र २५–९ को नतिजा आएको हो।

महिलातर्फ नै भएको अर्को खेलमा न्यूडायमण्ड विजयी बन्यो। डायमण्डले त्रिभुवन आर्मीको टिमलाई सोझो सेटमा २५–१६, २५–२२ र २५–१९ मा हराएको हो। मंगलबार पहिलो सेमीफाइनल खेल बिहान ८ बजे पुलिस र आर्मी तथा दोस्रो सेमीफाइनल बिहान १० बजे न्यूडायमण्ड र गण्डकी प्रदेशको टिमबीच हुनेछ।

गत भदौ ११ देखि सुरु प्रतियोगितामा अविरल वर्षाका कारण खेल तालिका एक दिन पर धकेलिएको छ। फाइनल भदौ १५ गते खेल संयोजक सुशीलकुमार श्रेष्ठले बताए।

बिगतमा महिला भलिबल मात्र हुँदै आएकोमा यसपालि पुरुष राष्ट्रिय भलिबल पनि थपिएको हो। खेल लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा जारी छ। प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएका छन्।

महिला पुरुष दुवै तर्फका विजेताले १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्नेछन्। उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइने आयोजकले बताएको छ।