प्रधानमन्त्री देउवा–पत्रकार महासंघ टोलीबीच भेटवार्ता

जनसम्मत
भाद्र १४, २०७९, मंगलवार

नेपाल पत्रकार महासंघका पदाधिकारीहरुले आज (मंगलबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

प्रतिनिधिसभाको कार्यकाल सकिन लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानूनको तर्जुमा हुन नसकेपछि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन महासंघ टोली बालुवाटार पुगेका हुन्।

भेटमा महासंघका पदाधिकारीहरुले मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानूनहरु चालू अधिवेशनमा नै छिनोफानो गरिदिन महासंघले प्रधानमन्त्री देउवालाई आग्रह गरे। सञ्चारसम्बन्धी कानून नहुँदा विद्युतीय कारोबार ऐनलगायतका कानूनहरु आकर्षित गरी पत्रकारलाई दु:ख दिने काम भएको भन्दै टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएको छ।

जवाफमा प्रधानमन्त्री देउवाले महासंघले उठाएका विषयलाई सकारात्मक रुपमा लिएको र यथासक्य सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन्। भेटमा महासंघका तर्फबाट अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी सहभागी थिए।

प्रतिनिधिसभाको कार्यकाल समाप्त हुनुअगावै यस विषयलाई टुंगोमा लग्न सरोकारवालाहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको महासंघले सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेट्ने कार्यक्रम छ।