टी–२० शृंखलामा नेपालले केन्यालाई हरायो

जनसम्मत
भाद्र १४, २०७९, मंगलवार

केन्याविरुद्धको टी–२० शृंखलामा नेपाल विजयी बनेको छ।

अन्तिम खेलमा ३१ रनको जित दर्ता गर्दै नेपालले शृंखलामा जित हासिल गरेको हो।

पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई पराजित गर्दै नेपालले शृंखला जितेको हो। नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्रै बनायो। केन्याका लागि नेहेमिह ओधिआम्बोले ३७ र शेम एनगोचेले ३३ रन बनाए। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसिर अहमदले २/२ विकेट लिए।

रोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो। नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९, रोहित पौडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए। बलिङतर्फ केन्याका भिराज पटेल, शेम एनगोचे र नेहेमिह ओधिआम्बोले २/२ विकेट लिए।