पोखराको लामाचौरमा राष्ट्रिय भलिबल जारी

उपाधिका लागि महिलातर्फ न्यूडायमण्ड एकेडेमी र नेपाल पुलिस क्लब फाइनल भिड्ने, पुरुषतर्फ भने गण्डकी प्रदेश उपाधि नजिक

जनसम्मत
भाद्र १४, २०७९, मंगलवार

२४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप महिलाप/पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ न्यूडायमण्ड एकेडेमी र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन्।

मंगलबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिसले विभागीय टोली त्रिभुवन आर्मी क्लबको टिमलाई ३–१ हराउँदै फाइनल पुगेको छ। प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाएपनि पुलिसले उत्कृष्ट पुनरागमन गर्दै जित आफ्नो पक्षमा पारेको हो।

पहिलो सेटमा विभागीय आर्मी २८–२६ ले विजयी भएको थियो। पछिल्ला ३ सेट भने पुलिसले २७–२५, २५–११ र २६–२४ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो।

दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै न्यूडायमण्ड फाइनल प्रवेश गरेको हो। पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेटमा भने निकै संघर्षपूर्ण जित हासिल गरेको थियो। दोस्रो सेट २६–२४ ले जित्न सफल भएकोमा तेस्रो सेट २५–११ ले जित्दै लगातार आठौं पटक फाइनल पुगेको हो। प्रतियोगितामा डायमण्डकै रीमा कुँवर ‘वुमन अफ दि म्याच’ बनिन्।

पुरुषतर्फ भएको प्रतियोगितामा गण्डकी प्रदेशको टिम फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमिफाइनलमा विभागीय सशस्त्र प्रहरी बलको टिमलाई ३–२ सेटले हराउँदै गण्डकीले संघर्षपूर्ण जित हात पारेको छ। पहिलो र दोस्रो सेट गुमाएको गण्डकीले पछिल्ला सेटमा संघर्षपूर्ण जित हासिल गरेको हो। पहिलो र दोस्रो सेट समान २२–२५ भएकोमा तेस्रो सेटमा गण्डकीले २५–२३ ले जितेर खेलमा फर्किएको थियो। चौथो सेट २५–१६ र अन्तिम सेट १७–१५ मा जितेको हो।

दोस्रो सेमिफाइनल भने वर्षाले स्थगित हुन पुगेको छ। विभागीय टिमहरु नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबका प्रतिस्पर्धामा रहेकोमा पहिलो सेट नसकीदै ठूलो पानी परेको थियो। स्थगित भएको खेल बुधबार बिहान हुने भलिबलकी राष्ट्रिय रेफ्री शान्ति गुरुङले जानकारी दिएकी छन्। बुधबार नै फाइनल खेल हुनेछ। त्यसअघि तेस्रो स्थानका खेल हुने आयोजक नवआदर्श सामुदायिक विकास समाजले जनाएको छ। तिज पर्व पनि भएकोले खेल हेर्न दर्शकको खचाखच भिड रहेको प्रचार संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले बताएका छन्।

महिला पुरुष दुवैतर्फका विजेताले १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्नेछन्। उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइने खेल संयोजक सुशीलकुमार श्रेष्ठले बताएका छन्।