निलम्बित प्रधानन्यायाधीश जबरासँग जवाफ लिन सुरु गरियो

जनसम्मत
भाद्र १५, २०७९, बुधबार

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग जवाफ लिन सुरु गरेको छ।

महाभियोग सिफारिस समितिले आज (बुधबार) जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा जवाफ लिन सुरु गरेको हो।

यसअघि, बन्द कोठाभित्र जवाफ लिने कि खुला भन्नेमा महाभियोग सिफारिस समितिमा बहस चलेको थियो। जसका कारण जवाफ लिन ढिलाई भएको थियो। समितिका सदस्यसमेत रहेका नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले जवाफलाई खुला राख्नुपर्ने धारणा राखेका थिए। यद्यपि, नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मा, नेकपा (माओवादी केन्द्र) का रेखा शर्मा र नेकपा (एकीकृत समाजवादी) का कल्याणी खड्काले बन्दमा जवाफ लिनुपर्ने अडान लिएका थिए।

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ। जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार पारिएको समितिले जनाएको छ।

गत बुधबार समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई जवाफ दिनका लागि बोलाएको थियो। आज (बुधबार) बिहान ११ बजे नै आफूमाथि लागेको आरोपबारे जवाफ दिन जबरा सिंहदरबार पुगेका थिए।

गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाभियोग दर्ता गराएपछि उनी स्वत: निलम्वनमा परेका थिए।