राष्ट्रिय खेलकुद : गण्डकीमा खेलाडी छनोट सुरु

जनसम्मत
भाद्र १६, २०७९, बिहीवार

यही असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने आसन्न राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरिय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा आज (बिहिबार) बाट गण्डकी प्रदेशस्तरिय खेलकुद प्रतियोगिता सुरु भएको हो।

लगातार भारी वर्षाका कारण प्रदेशस्तरिय प्रतियोगिताको उद्घाटन कार्यक्रम भने हुन सकेन। गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम थियो। उद्घाटनका कार्यक्रम रद्द गर्नु परेपनि खेलका निर्धारित कार्यक्रमहरु भने यथावत नै रह्यो।

उद्घाटन कार्यक्रममा खेलाडीहरुको मार्च पास, झाँकी, लोक सांस्कृतिक कार्यक्रमहरु तय गरिएको थियो।

गण्डकी प्रदेश परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले वर्षाका कारण उद्घाटन कार्यक्रम स्थगित गर्नु परेको जनाए। तर, खेलहरु भने पूर्व निर्धारित तालिका अनुसार नै अघि बढ्ने उनको भनाई छ । सदस्य सचिव गुरुङका अनुसार खेलाडीहरुको पुर्व स्वास्थ्य परिक्षण र निर्धारित तालिका अनुसारको खेलकुद प्रतियोगिताहरु तालिका अनुसार नै संचालन हुने जानकारी गराए।

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट समेत हुने प्रदेशस्तरिय प्रतियोगिताका लागि पोखरामा हाल ११ वटै जिल्लाका ३ हजार भन्दा वढी खेलाडीहरु पोखरामा छन्। प्रतियोगिता भदौ १८ गतेसम्म संचालन हुने जनाइको छ।