पोखराका निजी शौचालयहरु सार्वजनिक प्रयोगमा आयो

जनसम्मत
भाद्र १६, २०७९, बिहीवार

पोखरा महानगरपालिकाले आज (विहीबार) देखि व्यक्ति तथा निजी कम्पनीका शौचालयलाई सर्वसाधारणले नि:शुल्क प्रयोग गर्ने गरी संचालनमा ल्याएको छ।

पोखराको बजार क्षेत्रका महानगरले आजदेखि निजी साझेदारीमा ३२ वटा शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको हो।

पोखराको न्यूरोडस्थित सिटी स्क्वायर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले सो पार्टी प्यालेसको निजी शौचालयको उद्घाटन समेत गरे।

महानगरले सार्वजनिक सूचना जारी गरी शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आह्वान गरेको थियो। सोहीअनुसार सार्वजनिक उपयोगमा ल्याउन ईच्छा देखाएका व्यक्ति तथा व्यावसायिक संस्थासँग पोखरा महानगरले सम्झौता गरेको हो।

विभिन्न व्यक्ति, कम्पनी, वित्तीय संस्थाबाट सो संख्यामा अनुमति प्राप्तपछि संचालनमा ल्याइएको महानगर प्रमुख धनराज आचार्यले बताएका छन्।

प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस् भनेर सबैमा एकै प्रकारको संकेत चिन्ह राखिएको छ।

महानगर कार्यपालिका बैठकले महानगरका ३३ वटै वडामा सुविधासम्पन्न सार्वजनिक शौचालय बनाउने निर्णय गरिसकेकाले आगामी एक वर्षभित्रमा निर्माण गरिने र सो समयसम्मका लागि निजी शौचालय प्रयोग गर्ने गरी सम्झौता भएको आचार्यले जानकारी दिए।

महानगरले सार्वजनिकरूपमा नि:शुल्क उपयोग गर्न दिएबापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था गरिने जनाएको छ ।

शौचालय प्रयोग गर्न दिन मञ्जुर व्यक्ति वा संस्थासँग आगामी एक वर्षका लागि सम्झौता गरिएको शौचालयमा आवश्यक पर्ने सफाइ एवं स्यानिटरी सामग्री महानगरले आवश्यकताअनुसार उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताए।

उनका अनुसार प्रयोगमा ल्याइएका स्थानमा विशेष पहिचानयुक्त लोगोे वा संकेत राखिएकाले सर्वसाधारणलाई अलमल हुने छैन । महानगरले सम्झौता गरेकामा व्यक्तिगत घर, बैंक तथा वित्तीय संस्था, व्यापारिक कम्प्लेक्स, पेट्रोल पम्प, होटल तथा रेष्टुराँ आदि रहेका छन्।