बालुवाटारको ललिता निवासलगायत त्यस वरपर क्षेत्रका करीब ४८५ कित्ताको जग्गासहित अतिक्रमित सरकारी जग्गामा कर्मचारीको संलग्नतासम्बन्धी छानबिन शुरु

कर्मचारी, भूमाफियालगायत अन्य पक्षको अनुसन्धान, देशभरका अतिक्रमित भएका सरकारी जग्गाको खोजी गरिने

जनसम्मत सहकर्मी
वैशाख २७, २०७६, शुक्रबार

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले अतिक्रमित सरकारी जग्गामा कर्मचारीको संलग्नताबारे छानबिन शुरु गरेको छ ।

बालुवाटारको ललिता निवासलगायत त्यस वरपर क्षेत्रका करीब ४८५ कित्ता जग्गा रोक्का गरेको मन्त्रालयले त्यसमा संलग्न कर्मचारी, भूमाफियालगायत अन्य पक्षको अनुसन्धान गर्न लागेको हो । सार्वजनिक पर्ती, सरकारी जग्गा व्याक्तिको नाममा बनाउने, नापी गर्ने र दर्ता गराउने, सार्वजनिक जग्गामा भ्रष्टाचार गरी छुट जग्गा दर्ताका नाममा व्यक्तिको नाममा दर्ता गर्नेलगायत विषयको अध्ययन थालिएको हो ।

मन्त्रालय अन्तर्गतका विभाग, कार्यालय तथा कर्मचारीको त्रुटी खोजी गरी तथ्य सरकारलाई बुझाइने मन्त्रालयका सचिव गोपिनाथ मैनालीले जानकारी दिए । देशभरका अतिक्रमित भएका सरकारी जग्गाको खोजी गरिने मन्त्रालयले जनाएको छ ।