नवौं राष्ट्रिय खेलकुद : प्रदेशस्तरीय खो खो खेलमा पुरुषतर्फ नवलपुर प्रथम

जनसम्मत
भाद्र १७, २०७९, शुक्रबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेशस्तरिय खो खो छनौट प्रतियोगितामा पुरुषतर्फ नवलपुर प्रथम भएको छ।

पोखरा रंगशालामा आज (शुक्रबार) भएको फाइनल खेलमा नवलपुरले घरेलु टोली कास्कीलाई झिनो ३ अंकको अन्तरले पछि पार्दै प्रथम बनेको हो।

प्रतियोगितामा नवलपुरले १८ अंक ल्याउदा कास्कीले भने १५ अंक जोड्यो। प्रतियोगितामा ४ जिल्लाको सहभागिता रहेको प्रशिक्षक बिशाल गुरुङले बताए। नवलपुर प्रतियोगितामा प्रथम भएपनि विभिन्न जिल्लाका गरी १४ जना खेलाडीहरु छनौट गरिएको छ। छनौट हुने खेलाडीहरुमा नवलपुरबाट सागर परियार, मौसम महतो, सुमिर श्रेष्ठ, शंकर रिजाल, सुनिल थापा मगर, सुरेन्द्र महतो छन् भने गोर्खाबाट देबबहादुर गुरुङ र राचेशनी राना छन्। त्यसैगरी, कास्कीबाट बिबस परियार, रोबिन अधिकारी, शिवस टडाल, जोयल तामाङ छन्। बैकल्पिक खेलाडीमा गोर्खाबाट स्वस्तिक बस्नेत र नरेश धामी छन्। टिम व्यबस्थापकमा भने सुरज पोखरेल छन्।

त्यसैगरी, महिलातर्फ भने कास्की र नवलपुरबीचको खेल बराबरीमा टुंगिएको छ। निर्धारित समय ९/९ मिनेटको खेलमा दुबैतर्फ १५/१५ स्कोरले खेल बराबरीमा पुगेपछि २/२ मिनेटको खेल अतिरिक्त समयमा पनि दुबैतर्फ ३/३ स्कोर भएसंगै खेल बराबरीमा टुंगिएको हो।

महिलातर्फ भने प्रतियोगितामा ३ जिल्लाबाट खेलाडीहरु सहभागी भएको प्रशिक्षक बिशालजंग कुँवरले बताए। साथै प्रदेशको तर्फबाट छनौट भएका खेलाडीहरुमा कास्कीबाट ६ जना, र नवलपुरबाट ६ जना छनौट भएको म्यानेजर सुरज पोखरेलले बताए। छनौट हुने खेलाडीहरुमा कास्कीका सृष्टि पौडेल, सुजना कुँवर, भिमसरा रोका, ममता अधिकारी, सजिता सुनार र अञ्जली भुजेल छन्।

त्यसैगरी, नवलपुरकी महिमा बस्नेत, चित्रकुमारी सापकोटा, प्रियङ्का महतो, असरा गुरौं, पुनम महतो र रस्मिता श्रेष्ठ छन्। बैकल्पिक खेलाडीमा कास्कीबाट वियसा सुनार र नवलपुरकी सलिना सेढाई छन्।