नवौं खेलकुद : गण्डकी प्रदेशका लागि खेलाडी छनोट जारी

जनसम्मत
भाद्र १७, २०७९, शुक्रबार

प्रदेश खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत पोखरामा विभिन्न खेलकुद प्रतियोगिताहरु जारी छन्।

बिहिबारबाट सुरु भएको प्रतियोगितामा १ दर्जन भन्दा वढीको अन्तिम नतिजा आइसकेको आयोजक प्रदेश खेलकुद परिषदले जनाएको छ।

शुक्रबार एथलेटिक्स पुरुषतर्फ सम्पन्न ४०० मिटर दौडमा नवलपुरका नारायण चौधरीले स्वर्ण पदक हात पारे। उनले ५२.७० सेकेण्डमा दूरी पार गर्दै स्वर्ण पदक जितेका हुन्। त्यस्तै, लमजुङका विनित भुजेलले ५४.६२ सेकेण्डमा दूरी पार गर्दै रजत र नवलपुरका प्रकाश महतोले ५४.६३ सेकेण्डमा दूरी पार गर्दै कास्य पदक प्राप्त गर्न सफल रहे।

यता, महिलातर्फ ४०० मिटर दौड स्याङजाकी चन्द्रकला खरालले १ मिनेट १०.१७ सेकेण्डमा दूरी पार गरी स्वर्ण, कास्कीकी सविना खातुन मियाँले १ मिनेट १२.२६ सेकेण्डमा दूरी पार गर्दै रजत र कास्कीकै रितु भण्डारीले १ मिनेट १४.३६ सेकेण्डमा दूरी पार गर्दै कास्य पदक हात पार्न सफल रहे।

यसैगरी, एथलेटिक्स ट्रयाक एण्ड फिल्डतर्फ डिस्कस थ्रो महिलातर्फ कास्कीकी सोनी नेपालीले स्वर्ण पदक प्राप्त गरेकी छन्। उनले १९.५४ मिटर फाल्दै स्वर्ण पदक हात पार्दा गोरखाकी मञ्जु गुरुङले १८.३३ मिटर फालेर रजत र नवलपुरकी लक्ष्मी थनेतले १८.०० मिटर फाल्दै कास्य पदक प्राप्त गरेकी छन्। पुरुष डिस्कसतर्फ गोरखाका निशान गुरुङले २५.६५ मिटर फाल्दै स्वर्ण पदक प्राप्त गरे भने नवलपुरका राजन विकले २३.९७ मिटर फाल्दै रजत जितेका छन्। यसैगरी, मनाङका विकासबाबु बरामले २३.१८ मिटर फाल्दै कास्य पदक हात पारे।

१० हजार मिटर दौड पुरुषतर्फ गोरखाका श्याम मगरातीले स्वर्ण पदक जितेका छन्। उनले ३६ मिनेट २८.९१ सेकेण्डमा दौड पूरा गरी स्वर्ण पदक जितेका हुन्। सोही दौडमा पर्वतका आशिष कुँवरले ३६ मिनेट ४६.३९ सेकेण्डमा दौड पूरा गरी रजत पदक हात पार्दा गोरखाका नवराज गुरुङले ३६ मिनेट ४९.०८ सेकेण्डमा दौड पुरा गरी कास्य पदक प्राप्त गर्न सफल रहे।
महिलातर्फ भने पर्वतकी संगिता विकले ४६ मिनेट ३७.१० मिनेटमा दौड पूरा गरी स्वर्ण पदक हात पार्दा नवलपुरकी ढोलमायाँ थापाले ४६ मिनेट ५३.९ सेकेण्डमा दूरी पार गर्दै रजत पदक प्राप्त गरिन्।

यसैगरी, आज सम्पन्न शटपुट महिलातर्फ गोरखाकी मञ्जु गुरुङले स्वर्ण, कास्कीकी सोनु नेपालीले रजत र तनहुँकी बिनिता सार्कीले कास्य पदक हात पारे। पुरुषतर्फ सोही इभेन्टमा गोरखाका निशान गुरुङले स्वर्ण, नवलपुरका राजन वि.क.ले रजत र लमजुङका तीर्थमान तामाङले कास्य पदक हात पारे।

यस्तै, रिले ४०० मिटरमा कास्कीले स्वर्ण पदक हात पारेको छ भने नवलपरासीले रजत र लमजुङले कास्य पदक प्रप्त गर्न सफल रह्यो। यस्तै, महिलातर्फ रिले ४०० मिटरमा नै कास्कीले स्वर्ण पदक प्राप्त गरेको छ। सन २००६ मा युथ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी मनिशा अधिकारी सम्मिलित टिमले स्वर्ण पदक हात पारेको हो।

रिले ४०० मिटर दौड पुरुषतर्फ नवलपुरले स्वर्ण पदक हात पारेको छ भने पर्वतले रजत र तनहुँले कास्य पदक प्राप्त गरेको छ।

यसैगरी, लङजम्प पुरुषतर्फ ५.९१ मिटर जम्प गर्दै नवलपुरका ओमबहादुर मस्राङ्गीले स्वर्ण पदक जित्दा ५.८२ मिटर जम्प गर्दै म्याग्दीका ईश्वर सेञ्चुरीले रजत र ५.७५ मिटर जम्प गर्दै नवलपुरका रिखबहादुर घर्तीले कास्य पदक हात पारे। यता, महिलातर्फ तनहुँकी निशा घर्तीले स्वर्ण, लमजुङकी लक्ष्मी परियारले रजत र कास्कीकी अनिशा भण्डारीले कास्य पदक हात पारिन्।

शुक्रबार नै सम्पन्न ३००० मिटर स्टिपल चेस दौड पुरुषतर्फ बागलुङका बादल कार्कीले स्वर्ण, तनहुँका सहास पन्तले रजत र स्याङजाका यामबहादुर केसीले कास्य पदक हात पारे।

त्रिपलजम्प महिलातर्फ लमजुङकी लक्ष्मी परियारले स्वर्ण पदक, तनहुँकी निशा घर्तीले रजत र स्याङजाकी चन्द्रकला खरालले कास्य पदक हात पारिन्।

ज्याभलिन थ्रो पुरुषतर्फ लमजुङका तीर्थमान तामाङले स्वर्ण पदक हात पारे भने मनाङका विकासबाबु बरामले रजत र लमजुङका रोनिक तामाङले कास्य पदक हात पारेका छन्। त्यस्तै, महिलतर्फ तनहुँकी बिनिता सार्कीले स्वर्ण, कास्कीकी सोनु नेपालीले रजत र स्याङजाकी वितिसा रानाले कास्य पदक प्राप्त गरेकी छन्।

उशुतर्फ कास्की च्याम्पियन

उशुतर्फ कास्की टिम च्याम्पियन बनेको छ। कास्कीले १२ स्वर्ण, ३ रजत १ कास्य पदक गरी टिम च्याम्पियन बनेको हो भने बागलुङले ११ स्वर्ण, ३ रजत र २ कास्य पदक गरी दोस्रो भएको छ। त्यसैगरी, म्याग्दीले २ स्वर्ण, २ रजत २ कास्य पदक जित्दै तेस्रो भएको छ। उशुतर्फ ५ जिल्लाका खेलाडीहरुको सहभागिता थियो।