पोखरा महानगरपालिकाको कर्मचारी कटौती गर्ने योजना

स्वर्णिम अवकाशमा जाने कर्मचारीलाई १० करोड बजेट विनियोजन

जनसम्मत
भाद्र १७, २०७९, शुक्रबार

पोखरा महानगरपालिकाले कर्मचारी संख्या कटौती गर्ने योजना ल्याएको छ।

सो योजनाअनुसार आर्थिक वर्ष २०७९/८० मा स्वर्णिम कर्मचारी अवकाश योजना संचालन गरिने भएको छ।

महानगरपालिकाले त्यसका लागि साढे १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ। कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहे महानगरबाट निश्चित रकम पाउनेछन्। महानगरका प्रवक्ता एवं वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले निश्चित अवधि पुगेका कर्मचारीलाई अवकाश जाँदा रकम प्रदान गरिने जानकारी दिए।

उनका अनुसार एक वर्ष अवधि पुगेकालाई एक महिनाको सेवा सुविधा, १५ वर्ष पुगेकालाई १५ महिनाको सेवा सुविधा प्रदान गरिनेछ।

महानगरले आर्थिक वर्ष २०७९/८० का लागि स्थायी कर्मचारीको तलबका लागि २६ करोड ५२ लाख बजेट विनियोजन गरेको छ।

स्थायी कर्मचारीको तलब पहिलो त्रैमासिकमा ८ करोड १६ लाख, दोस्रो, तेस्रो र चौथो त्रैमासिकमा समान ६ करोड १२ लाख विनियोजन गरेको छ। कर्मचारी पोसाक भत्ताका लागि ८२ लाख ५० हजार बजेट विनियोजन गरेको छ। महानगरमा ३५९ जना कर्मचारी करारमा कार्यरत छन्।