नेपालले केन्याविरुद्धको एक दिवसीय पहिलो खेलमा जित निकाल्यो

जनसम्मत
भाद्र १७, २०७९, शुक्रबार

नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एक दिवसीय खेलमा जित निकालेको छ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको हो।

केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले १ सय १० रनको शतकीय इनिङ खेले। उनले १ सय २० बलमा १२ चौका र २ छक्का प्रहार गरे। यस्तै, अर्जुन साउदले ६१ रनको अर्ध शतकीय इनिङ खेले। ज्ञानेन्द्र मल्ल २४ रनमा आउट भए।

दीपेन्द्रसिंह ऐरीले अविजित १५ रन जोड्दा रोहित पौडेलले अविजित ३ रन बनाए। केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले १/१ विकेट लिए।

त्यसअघि, टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २ सय १८ रन बनाएको थियो। केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्ध शतकीय इनिङ खेले।

पटेलले ६७ तथा ओबुयाले ६२ रन बनाए। ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए। नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए। आदिल आलम र पवन सर्राफले समान १/१ विकेट लिए।

केन्याविरुद्ध उत्कृष्ट सुरुआत गरेको नेपालले ४९ रनमा ४ विकेट लिएको थियो। तर, पाँचौँ विकेटका लागि रकिप पटेल र कोलिन्स ओबुयाले १ सय ३० रनको साझेदारी गर्दै केन्याको इनिङ उकासेका थिए। यस जितसँगै नेपालले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ।
अब, नेपालले केन्यासँग भोलि (शनिबार) दोस्रो खेल खेल्नेछ। त्यस्तै, सोमबार तेस्रो तथा अन्तिम खेल खेल्नेछ। नेपालले यसअघि केन्याविरुद्धको ५ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो।