लमजुङमा १ वर्षमा ४७१ जनाले पाए रोजगारी

जनसम्मत
भाद्र १७, २०७९, शुक्रबार

कोरोना महामारीले गर्दा बेरोजगार बन्न पुगेका युवायुवतीलाई लक्षित हुने गरी घरेलु तथा साना उद्योग कार्यालयले लमजुङका बेरोजगार युवायुवतीलाई सिप प्रदान गरेको छ।

कार्यालयले जिल्लाका ८ वटै स्थानीय तहका बेरोजगार युवायुवतीलाई विशेष प्राथमिकता दिँदै विभिन्न तालिम प्रदान गरेको हो।

जसअन्तर्गत १ महिने ड्राइभिङ तालिम सात दिने, अचार बनाउने तालिम, १५ दिने गुडिया बनाउने तालिम, यसै तीन महिने आधारभूत कम्प्युटर तालिम, १० दिने उद्यमशीलता विकाश तालिम, २ महिने आधारभूत सिलाई कटाई तालिम, १५ दिने चप्पल बनाउने तालिम र २ महिने अल्लोका सामाग्री बनाउने तालिम प्रदान गरिएको थियो।

कार्यालयले जिल्लाका बेरोजगार ४ सय ७१ जना युवायुवतीलाई सीपमूलक तालिम प्रदान गरेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताइन् । उक्त सिप प्राप्त गरे पश्चात् अधिकांश स्वरोजगार बनेका छन्।