नवौं राष्ट्रिय खेलकुद : गण्डकीबाट स्क्वासका ७ खेलाडी छनोट

टेबल टेनिसमा १० खेलाडी छनोट

जनसम्मत
भाद्र १८, २०७९, शनिबार

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वास खेल्न गण्डकी प्रदेशबाट ७ जना खेलाडी छनोट भएका छन्।

पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शनिबार सम्पन्न खेलको आधारमा गण्डकी प्रदेशबाट पुरुषतर्फ ४ र महिलातर्फ ३ जना छनोट भएका हुन्।

पुरुषतर्फ अमृत थापामगर (गोरखा), दीपक थापामगर (कास्की) र नवराज थापा (स्याङ्जा) छनोट भएका हुन्। पुरुषतर्फ र हिराकाजी श्रेष्ठ (कास्की) वैकल्पिक खेलाडीका रुपमा छनोट भएका छन्।

गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा अमृत प्रथम, दीपक दोस्रो, नवराज तेस्रो र हिराकाजी बैकल्पिकमा छनोट भएका हुन्।

गोरखाका अमृतले फाइनलमा कास्कीका दीपक थापामगरलाई १०–१२, ११–६ र ११–६ ले जित्दै पहिलो बनेका हुन्।

अमृत, नेपालगञ्जमा भएको आठौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेता समेत हुन् ।

त्यस्तै, महिलातर्फ कृष्ण थापामगर (गोरखा), शृशिका उदास (कास्की) र करिश्मा ओली (कास्की) छनोट भएका छन्।

गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा कृष्ण प्रथम, शृशिका दोस्रो र करिश्मा तेस्रो बन्दै राष्ट्रिय खेलकुदका लागि छनोट भएका हुन्।
प्रतियोगितामा लमजुङ, मनाङ र मुस्ताङ जिल्लाबाहेक बाँकी ८ जिल्लाबाट २६ पुरुष र ७ महिलाले प्रतिस्पर्धा गरेका थिए।

राष्ट्रिय खेलकुदका लागि छनोट भएका खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य शुभकन्या गुरुङ, पोखरा महानगरपालिका खेलकुद समितिका अध्यक्ष दीपक गोदार, कास्की जिल्ला स्क्वास संघका अध्यक्ष पुष्पराज श्रेष्ठले मेडल र प्रमाणपत्र प्रदान गरे।

टेबल टेनिसबाट १० खेलाडी छनोट

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट टेबल टेनिसका १० खेलाडी छनोट भएका छन्।

पोखरा रंगशालास्थित टेबल टेनिस हलमा सम्पन्न गण्डकी प्रदेशस्तरीय प्रतियोगिताबाट बुद्धिमान गुरुङ (स्याङ्जा), समीर खत्री (बागलुङ), किसन जिसी (कास्की), पृतम गुरुङ (लमजुङ) र प्रतीककुमार राना (पर्वत) छनोट भएका छन्। पुरुषतर्फको बैकल्पिक खेलाडीमा अनुष कुँवर (कास्की) छन्।

त्यस्तै, महिलातर्फ मुना थापा (कास्की), प्रकृति थापामगर (पर्वत) शुभेच्छा अधिकारी (लमजुङ), तृषा गुरुङ (कास्की) र सचिना पुरी (बागलुङ) छन्। महिलातर्फको बैकल्पिक खेलाडीमा निर्माला ओली गिरी (कास्की) छन्।

छनोट भएका खेलाडीहरुले गण्डकी प्रदेशको टिमबाट पुरुषतर्फको सिंगल्स, डबल्स, टिम इभेन्ट्स तथा महिलातर्फ सिंगल्स, डबल्स, टिम इभेन्ट्स र मिक्स डबल्स गरी ७ इभेन्टमा प्रतिस्पर्धा गर्ने टेनिस खेलको प्रतियोगिता संयोजक उत्तम जोशीले बताए।

जोशीका अनुसार गण्डकी प्रदेशको नवलपुरबाहेक अन्य १० जिल्लाबाट करिब ८५ जना खेलाडीहरुले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।

गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेजबहादुर गुरुङ, उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य शुभकन्या गुरुङ, पोखरा महानगर खेलकुद समिति अध्यक्ष दीपक गोदार लगायतले छनोटमा पर्न सफल खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरे।