बुद्धिचाल प्रतियोगिताको छनोटमा पूजा र सविन प्रथम

जनसम्मत
भाद्र १८, २०७९, शनिबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ लमजुङका सविनचन्द्र घिमिरे प्रथम भएका छन्।

कूल ५ राउण्डमध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी गर्दै कूल साढे ४ अंकका साथ उनी प्रथम भएका हुन्। यसैगरी, कुल साढे ४ अंकका साथ मुस्ताङका राजन पहाडी द्धितिय बने। उनले पनि कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी खेलेका थिए।

यसैगरि, बागलुङका लेखबहादुर थापा ४ अंकका साथ तृतिय बने। उनले ४ खेलमा जित र १ खेलमा हार व्यहोरेका थिए। पुरुषतर्फ २३ जना प्रतियोगिले प्रतिस्पर्धा गरेका थिए।

यसैगरि, बुद्धिचाल प्रतियोगिताको महिलातर्फ कास्कीकी पूजा भण्डारी प्रथम भएकी छन्। उनले कूल ५ राउण्ड खेलमा ५ वटै खेल जित्दै प्रथम हुन सफल बनेकी हुन्। यसैगरि, ४ राउण्डमा प्रथम र एक राउण्डमा पराजय भोगेर कुल ४ अंक जोडेकी लमजुङकी स्तुती खवास द्धितिय बनिन्।

३ राउण्डमा जित एक राउण्डमा हार र एक राउण्डमा बराबरी खेलेकी बागलुङकी झरना थापा तृतिय बनिन्। महिलातर्फ १३ जना खेलाडीले नाम दर्ता गराएपनि १२ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाए।

बुद्धिचाल प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, तनहँु, बागलुङ, लमजुङ, मुस्ताङ, पर्वत, स्याङजा र नवलपुर जिल्लाले सहभागिता जनाएका थिए। मनाङ, गोरखा र म्याग्दी जिल्लाले भने सहभागिता जनाएन। बुद्धिचाल प्रतियोगिताको लागि संयोजकको जिम्मेवारी ओमप्रसाद उपाध्याय र प्रशिक्षकको जिम्मेवारी शुक्रप्रसाद प्रधानलाई दिइएको थियो।

प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता पोखरा सिर्जनाचोकस्थित स्टार लाउञ्ज एण्ड बारमा भएको हो। प्रथम, द्धितिय र तृतिय भई छनोट भएका खेलाडी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी बन्नेछन्। उनीहरुले अब केही दिनपछि बन्द प्रशिक्षणमा सहभागिता जनाउने प्रशिक्षक प्रधानले बताए।