पोखराका पत्रकार श्रेष्ठलाई घरभाडा सरोकार समितिको सम्मान

जनसम्मत
भाद्र १८, २०७९, शनिबार

पोखराका क्रियाशील पत्रकार सन्देश श्रेष्ठ नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीबाट सम्मानित भएका छन्।

समितिको आज (शनिबार) पोखरामा सम्पन्न १५ औँ साधारणसभा तथा पाँचौ अधिवेशनका अवसरमा पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणमा भूमिका खेलेको भन्दै श्रेष्ठलाई नगद १० हजार १ सय रुपैयाँको पुरस्कारसहित दोसल्ला र प्रशंसापत्रबाट सम्मान गरिएको हो।

नेपाल घरबहाल सरोकार महासंघका केन्द्रीय अध्यक्ष बलभद्र खनाल, घरभाडा सरोकार समिति कास्कीका अध्यक्ष कमल न्यौपानेलगायतले पत्रकार श्रेष्ठलाई सम्मान गरेका हुन्।

पत्रकार श्रेष्ठ विगत २ दशकदेखी पोखरामा रहेर पत्रकारिता गर्दै आएका छन्। उनी हाल नागरिक दैनिक तथा एभेरष्ट एफएम र एभरेष्ट आवाज अनलाईनमा आवद्ध छन्। संस्थाले पोखरामा क्रियाशील एक जना पत्रकारलाई अधिवेशनको समयमा सम्मान गर्दै आएको छ।

कार्यक्रममा नेपाल घरबहाल सरोकार महासंघका अध्यक्ष खनालले राज्यले घरबहाल कर निर्धारण गर्नुपर्ने बताउँदै घरबहाल कर नतोक्दा घरधनीले आफूखुशी तरिकाले घरभाडा लिने र कर भने नतिर्ने गरेको बताए।

‘घरभाडामा बस्नेलाई गोदेर लिने अनि राज्यलाईचाहिं नतिर्ने प्रवृत्ति छ। त्यसैले राज्यले मालपोत कर लिएजस्तै राज्यले घरबहाल करपनि तोकोस्,’ खनालले भने।

अध्यक्ष खनालले घरबहालसम्बन्धी एकीकृत कानून निर्माण गर्नुपर्ने औँल्याए। संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारलाई ज्ञापनपत्र बुझाउँदापनि सुनुवाई नभएको उनको भनाई छ।

घरबहालमा देखिएको विकृति, विसंगति तथा घरधनी र घरभाडामा बस्नेबीच देखिएको समस्या समाधानका लागि घरबहालसम्बन्धी कानून आवश्यक परेको उनको भनाई छ।

अध्यक्ष खनालले घरबहालमा बस्नेलाई राज्यले दोश्रो दर्जाको नागरिकका रुपमा हेर्ने गरेको र कोरोनाकाल लगायतका समस्यमा पर्दा राज्यले राहत नदिएर विभेद गरेकोसमेत उल्लेख गरे।

नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीका अध्यक्ष कमलप्रसाद न्यौपानेले घरभाडा सरोकार समिति घरधनी र घरभाडामा बस्ने दुबैको साझा संस्था भएको बताउनुभयो ।

कार्यक्रममा कोरोना महामारीका समयमा घर बहालमा बस्नेलाई एक वर्षको घरभाडा ६ लाख ६० हजार मिनाह गरेका पोखरा–९ निवासी चन्द्रमान गुरुङ र संस्थाका सचिव नारायण सुवेदीलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो।