नवौं राष्ट्रिय खेलकुद : भलिबलमा नवलपुर र म्याग्दी च्याम्पियन

जनसम्मत
भाद्र १८, २०७९, शनिबार

प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न भलिबलमा पुरुषतर्फ नवलपुर र महिलातर्फ म्याग्दी टिम च्याम्पियन बनेका छन्।

पुरुषतर्फको फाइनल खेलमा नवलपुरले बलियो मानिएको स्याङ्जालाई २–१ सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। लिग खेलमा तनहुँसँग पराजय भोगेको नवलपुरले सेमीफाइनलमा कास्कीलाई २५–१७, ३१–२९ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्याङजासँग भेट पक्का गरेको थियो।

फाइनलमा नवलपुरले पहिलो सेट ३०–२८ ले स्याङजालाई सुम्पिएपनि पछिल्ला २ सेटमा लगातार स्याङजालाई २५–२३ र तेश्रो सेट ३०–२८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जित्न सफल भएको थियो भने उपविजेता बनेको स्याङ्जाले रजत पदक प्राप्त गरेको छ।

पुरुषतर्फ कास्कीले कास्य पदक जितेको छ। शनिबार सम्पन्न खेलमा कास्कीले पर्वतलाई २५–१७, २९–२७ र २५–२३ ले पराजित गर्दै कास्य पदक जितेको हो।

यता, महिलातर्फ फाइनलमा नेपाली राष्ट्रिय टोलीकी टिम कप्तान अरुणा शाही सम्मिलित टिम म्याग्दीले पर्वतलाई २५–१८, १३–२५ र २५–१८ ले जित्दै स्वर्ण पदक हात पार्न सफल भएको छ। यसअघि, भएको सेमीफाइनलमा म्याग्दीले तनहुँलाई सोझो सेटमा २५–११ र २५–१४ ले पराजित गर्दै पर्वतसँग भेट पक्का गरेको थियो। रजत पदक विजेता पर्वतले कास्कीलाई २५–२३ र २५–२१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

यसैगरी, महिलातर्फ कास्कीले कास्य पदक हात पारेको छ। कास्कीले तनहुँलाई सोझो सेट २५–१२ र २५–१० ले पराजित गर्दै कास्य पदक हात पार्न सफल भएको हो।

विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष तेजबहादुर गुरुङ, नेपाल भलिबल संघका केन्द्रीय सल्लाहकार नारायण शर्मा, प्रदेश खेलकुद परिषदकी सदस्य शुभकन्या गुरुङ, गण्डकी प्रदेश भलिबल संघका वरिष्ठ उपाध्यक्ष हरिकुमार श्रेष्ठ, महासचिव टहलसिंह थापामगर, छनोट समितिका संयोजक नारायण भण्डारीलगायतले मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरे।