नवौं राष्ट्रिय खेलकुद : गण्डकीबाट एथलेटिक्समा कास्की पहिलो

जनसम्मत
भाद्र १८, २०७९, शनिबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरिय एथलेटिक्समा ९ वटा स्वर्ण पदक जित्दै कास्की प्रथम भएको छ।

पोखरा रंगशालामा शनिबार सम्पन्न एथ्लेटिक्सको विभिन्न स्पर्धामा कूल ९ स्वर्ण पदक जित्दै कास्की प्रथम बनेको हो। प्रतियोगितामा कास्कीले ४ रजत र ३ कास्यपदक जितेको छ।

त्यस्तै, गोरखाले ६ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्दै दोस्रो बन्यो। नवलपुरले ४ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै तेस्रो स्थान प्राप्त गरेको छ।

प्रतियोगितामा ५ हजार मिटर महिलातर्फ स्याङ्जाकी जानकी खरालले २१ मिनेट ५० सेकेण्डमा पूरा गर्दै प्रथम भइन्। यस्तै, उक्त दूरी २१ मिनेट ५७ सेकेण्डमा पुरा गर्दै तनहुँकी नम्रता गुरुङ दोस्रो हुँदा पर्वतकी संगीता विक तृतिय बनिन्। उनले निर्धारित दूरी २२ मिनेट ४८ सेकेण्डमा पूरा गरिन्।

पुरुषतर्फ गोरखाका दिनेश बोगटी प्रथम, गोरखाकै नवराज गुरुङ द्वितिय र पर्वतका आशिष कुँवर तृतिय भएका छन्। प्रतियोगितामा निर्धारित दूरी बोगटीले १६ मिनेट २० सेकेण्ड, गुरुङले १६ मिनेट ४४ सेकेण्ड र कुँवरले १६ मिनेट ४७ सेकेण्डमा पूरा गरेका थिए।

८ सय मिटर पुरुष दौडतर्फ पर्वतका अनिल कुँवर प्रथम, गोरखाका विकास पोखरेल द्वितिय,  नवलपुरका नारायण चौधरी तृतीय बने। कुँवरले सो दूरी २ मिनेट ४ सेकेण्डमा पुरा गर्दै प्रथम बनेका हुन्। पोखरेलले  २ मिनेट ६ सेकेण्ड ३१ मिलिसेकेण्ड र चौधरीले २ मिनेट ६ सेकेण्ड ६६ मिलिसेकेण्डमा पूरा गरेका थिए। सोही विधाको महिलातर्फ २ मिनेट ४४ सेकेण्डमा पुरा गर्दै स्याङ्जाकी चन्द्रकला खराल प्रथम, २ मिनेट ५२ सेकेण्डमा दूरी पूरा गरेकी नवलपुरकी यमुना थापा द्वितिय र २ मिनेट ५६ सेकेण्डमा पूरा गर्दै बाग्लुङकी पार्वती नेपाली तृतीय भइन्।

त्यसैगरि, ४ सय मिटर पुरुष दौडतर्फ नवलपुरका नारायण चौधरी, लमजुङका विमित भुजेल र नवलपुरकै प्रकाश महतो क्रमश प्रथम, द्वितिय र तृतिय भए। चौधरीले ५२ सेकेण्ड, भुजेलले ५४ सेकेण्ड ६२ मिलिसेकेण्ड र महतोले ५४ सेकेण्ड ६३ मिलिसेकेण्डमा सो दुरी पूरा गरे।

महिलातर्फ स्याङ्जाकी चन्द्रकला खराल प्रथम, कास्कीकी सविना खातुन मिया र ऋतु भण्डारी क्रमश: द्वितिय र तृतिय भए। प्रतियोगितामा खरालले १ मिनेट १० सेकेण्डमा उक्त दूरी पूरा गरिन्। सबिनाले १ मिनेट १२ सेकेण्डमा पूरा गर्दा भण्डारीले १ मिनेट १४ सेकेण्ड लगाइन्।

२ सय मिटर दौडमा महिलातर्फ २९ सेकेण्ड ५० मिलिसेकेण्डमा पूरा गर्दै कास्कीकी अनिसा भण्डारी प्रथम भइन्। तनहुँकी निशा घर्तिले ३० सेकेण्डमा पूरा गर्दै दोस्रो भइन्। भने नवलपुरकी अप्सरा वि.क.ले ३२ सेकेण्डमा सो दूरी पूरा गरिन्। यस्तै, पुरुषतर्फ कास्कीका सुदिप जोशी प्रथम भए। उनले  २४ सेकेण्ड १९ मि.सि.मा उक्त दुरी पुरा गरे ।  नवलपुरका समिर महतोले २४ सेकेण्ड ६६ मि.सि. लगाएर पूरा गर्दै द्वितिय भने तृतीय भएका तनहुँका प्रभुबहादुर थापाले २४ मिनेट ३ सेकेण्डमा पूरा गरे।

पुरुष हाइजम्पतर्फ कास्कीका सागर नेपाली प्रथम, नवलपुरका रिखबहादुर घर्ति द्वितिय र नवलपुरकै ओमबहादुर मस्राङ्गी तृतीय भए। यस्तै, महिलातर्फ लम्जुङकी सिमा श्रेष्ठ प्रथम , तनहुँकी तिर्था ढकाल द्वितिय र कास्कीकी कुसुम रानामगरले तृतिय स्थान प्राप्त गरिन्।

त्यस्तै, ज्याभ्लिन थ्रोमा पुरुषतर्फ लम्जुङका तिर्थमान तामाङ, मनाङका विकासबाबु बराम र लम्जुङका यूनिक तामाङ क्रमश: प्रथम, द्वितिय र तृतिय भए। महिलातर्फ तनहुँकी विनिता कार्की प्रथम, सोनु नेपाली द्वितिय र विनिसा राना तृतीय भइन्।

त्रिपलजम्पमा पुरुषतर्फ नवलपुरका नारायण चौधरी, नवलपुरकै समिर महतो र पर्वतका शंकर कुँवर क्रमश: प्रथम, द्वितिय र तृतीय भए।

महिला डिक्स थ्रो स्पर्धामा कास्कीकी सोनु नेपाली प्रथम, गोरखाकी मञ्जु गुरुङ द्वितिय र नवलपुरकी लक्ष्मी थनेत तृतिय भएको जिल्ला एथ्लेटिक्स कास्कीका उपाध्यक्ष इन्द्र मल्लले जानकारी दिइन्।