किरण गुरुङले प्रदेश छाडे, प्रतिनिधिसभामा सिफारिस

जनसम्मत
भाद्र १९, २०७९, आइतबार

नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङलाई तनहुँबाट प्रदेशसभा छाडेर प्रतिनिधिसभामा सिफारिस गरिएको छ।

तनहुँ जिल्ला क्षेत्र नं २ एमालेको क्षेत्रीय कमिटी गुरुङलाई प्रतिनिधिसभाबाट सोही निर्वाचन क्षेत्रका लागि सिफारिस गरेको हो।

यसअघि, गण्डकी प्रदेशका मन्त्री समेत रहेका गुरुङ स्वयंले यसपालीको प्रतिनिधिसभाको निर्वाचनमा ईच्छा देखाएको तनहुँ एमाले श्रोतले बताएको छ। यसअघि, मुख्यमन्त्री बन्ने मोहसहित गुरुङ तनहुँको क्षेत्र नं २ (ख) बाट गण्डकी प्रदेशसभाका लागि निर्वाचित भएका थिए। तर, लमजुङका पृथ्वीसुब्बा मुख्यमन्त्री बनेपछि पृथ्वीसुब्बाकै मन्त्रीमण्डलमा किरण गण्डकी प्रदेशको आर्थिक मामिलामन्त्री बनेका थिए।

तनहुँ–२ बाटै प्रतिनिधिसभा निर्वाचनका लागि एमालेका गुरुङसँगै केदार सिग्देल र विष्णु पराजुली अधिकारी समेत सिफारिस गरिएका छन्।