एमाले बागलुङ–१ बाट प्रतिनिधि सभामा ६ जनाको सिफारिस

२ पुराना र ४ नयाँ संभावित उम्मेदवारलाई अवसर

जनसम्मत
भाद्र २०, २०७९, सोमबार

नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. १ बाट ६ जनालाई संभावित उमेदवारको रुपमा सिफारिस गरेको छ।

आइतबारको बैठकले मनकुमारी केसी, ईन्द्रलाल सापकोटा, सूर्य पाठक, सावित्री राना, संजाल शर्मा र राम शर्मालाई संभावित उम्मेदवारका रुपमा छनोट गरेको हो । केसी र पाठक बहालवाला सांसद हुन् भने केसी समानुपातिक र पाठक प्रत्यक्ष निर्वाचित सांसद हुन्।

राना पनि गण्डकी प्रदेशसभा सदस्य हुन्। उनी समेत समानुपातिक सांसद भएकोले यो पटक दोहोरिन नपाउने सूचीमा छिन्। सापकोटा पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सभाका सदस्य हुन्। उनी अघिल्लो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन्। एमालेले यसअघि प्रदेशसभाका लागि भने उमेदवार सिफारिस गरिसकेको छ।

गत निर्वाचनमा समानुपातिक सांसद बनेकाहरु यो पटक समानुपातिकमा बस्न नपाउने प्रावधानपछि केसीले प्रत्यक्षमा नाम राखेकी हुन्।
पार्टीले माथिल्लो तहमा सिफारिस गरेपछि उनीहरुमध्येबाट सांसद पदका लागि टिकट ल्याउने प्रावधान छ।