पोखरा महानगरका नयाँ मेयर धनराजका १०० दिन

जनसम्मत
भाद्र १८, २०७९, शनिबार

पोखरा महानगर नयाँ नेतृत्वले आफ्ना १०० दिनका उपलब्धि सार्वजनिक गरेको छ।

बैसाख ३० गते भएको स्थानीय तह निर्वाचनपछि पोखरा महानगरपालिकामा जनप्रतिनिधि आएको १०० दिन पुगेको छ।

मेयर धनराज आचार्य नेतृत्वको पोखरा महानगरले १०० दिनभित्र महानगरवासीमा आशा जगाएको छ।

सपथ ग्रहण सकिनासाथ ३ सय ७५ वटा फुलका विरुवा रोपेर पदस्थापन गरेका मेयर आचार्यले अहिलेसम्म २४ हजार फलफूलका विरुबा रोप्नुका साथै ‘एक घर, एक विरुवा’ अभियानअन्तर्गत कागती, कफी, आँप, लिची, एभोकाडो, अम्बा, केरालगायतका विरुवा वितरण तथा रोपण गरेको मेयर आचार्यले उल्लेख गरे।

पोखरा महानगरपालिकाको समग्र विकासका लागि आफ्नो नेतृत्वमा नवीनतम प्रयासहरूसमेत थालेको मेयर आचार्यको दाबी छ। ‘उज्यालो पोखरा अभियान’देखि सेवा प्रवाहमा एकद्धार प्रणाली संचालन गरिएको छ।

यस अवधिमा १०० बढी महत्वपूर्ण कामहरूको सुरुवात गरिएको मेयर आचार्यले जनाएका छन्।

विभिन्न दातृ निकाय तथा विदेशका भगिनी सम्बन्ध कायम भएका सहरसँगको साझेदारीमा दीर्घकालीन महत्वका योजनाहरूको संभाव्यता अध्ययन, डीपीआर निर्माण तथा निर्माण सम्झौता समेत गरिएका छन्।

नेपाल बिद्युत प्राधिकरणसँग पोखराको अघौंचोकदेखी लेकसाइडसम्म र सभागृह, महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकसम्मको बिजुलीका तारहरुलाई अन्डरग्राउण्ड गर्ने सम्झौता गरिएको छ। यसैवीच, पोखराले महानगर फोरम गठन गर्दे महानगर सम्मेलनबाट ७ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ। युवा तथा बेरोजगारहरुलाई लक्षित गरेर व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गरिएको र गण्डकी बहुप्राविधिक शिक्षालयमा थप ४ नयाँ बिषयको अध्यापन अनुमति प्राप्त गर्न सफल भएको उनको भनाई छ।
यस्तै, एक सय दिनमा कृषि क्षेत्रसँग जोडिएर धेरै काम गर्न सकिएको महानगरले जनाएको छ। तरकारी र फलफूलको समर्थनमा मूल्य

घोषणा, पोखरा–१३ का किसानहरुलाई चैते धान रोपाइँमा ५० प्रतिशत बीउ अनुदान, बेमौसमी तरकारी र फलफूल खेतीमा प्रोत्साहन, सुन्तलाका पोखरेली कृषकहरुलाई किसान डिजिटल कार्ड वितरण गर्नुका साथै २० लाख रुपैयाँ नगद अनुदान वितरण गरिएको छ।

१ सय भन्दा बढिको संख्यामा बाख्रापालन गर्ने किसानहरुलाई बिशेष सम्मानसँगै २० लाख बराबरको अनुदान वितरण गरिएको महानगरप्रमुख आचार्यले बताए। यस्तै, किसानहरुलाई राहात प्रदान गर्न चिस्यानसहितका एम्बुलेन्स खरिद प्रक्रिया अघि वढाएको समेत महानगरले जनाएको छ।

‘हेल्लो मेयर’ कार्यक्रम संचालन

जनगुनासो सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रम समेत संचालन गरिएको छ।

महत्वपूर्ण स्थानका सार्वजनिक जग्गाहरूको विवाद समाधान तथा स्वामित्व फिर्ता, हजारौँको संख्यामा फलफूलका बिरुवाहरू रोपण, कृषि एम्बुलेन्स संचालन, छात्रवृत्ति प्रदान तथा राहत र उपचार सहयोग तथा सिफारिसलगायत कामहरू १०० दिनको अवधिमा सम्पन्न गरि सकेको छ।

नगरप्रमुख आर्चायले १०० दिन भित्र नै सवै कामहरु गर्न नसकिने बताए। ५ वर्षभित्र आफ्नो घोषणापत्रमा उल्लेख गरिएका सबै कामहरु सक्ने लक्ष्य रहेको मेयर आचार्यले स्पष्ट पारे। फोहर ब्यवस्थापनमा नगरले खासै चासो नदेखाएको र ल्याण्डफिल्ड साइट निर्माणका लागि केही नगरेको कार्यक्रममा सहभागी महानगरवासी तथा संचारकर्मीहरुको जनगुनासो थियो।