केन्याविरुद्धको एकदिवसीय श्रृंखलामा नेपालको क्लिन स्विप

नेपालले यसअघि ५ खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला ३–२ ले जितेको थियो

जनसम्मत
भाद्र २०, २०७९, सोमबार

घरेलु टोली केन्याविरुद्धको एकदिवसीय श्रृंखला नेपालले क्लिन स्विप गरेको छ।

नेपालले यसअघि ५ खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला ३–२ ले जितेको थियो।

सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले श्रृंखला क्लिन स्विप गरेको हो।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २५६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो।

नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले। अर्जुनले ५८ को अर्धशतकीय पारी खेल्दा आसिफले ५६ रनको योदान गरे। त्यस्तै, वसिरले ५२ रन बनाउँदा नेपालका कप्तान रोहित पौडेलले अविजित रहँदै ४६ रन बनाए।

केन्याका भिराज पटेलले २ विकेट लिए। त्यस्तै, शेम एनगोचे र याश तालातीले १/१ विकेट लिए। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो। केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय पारी खेल्दा लुकास एनडानडासनले अविजित रहँदै ५९ रनको अर्धशतकीय पारी खेले। नेपालका सोमपाल कामी र आदिल अन्सारीले २/२ विकेट लिए। त्यस्तै, वसिर अहमद र शाहब आलमले १/१ विकेट लिए।

योसँगै नेपालले केन्याविरुद्धको दुबै श्रृंखला आफ्नो बनाएको छ। श्रृंखला अन्तर्गतकै पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो। यस्तै, दोस्रो एकदिवसीयमा १७ रनले विजयी बनेको थियो।