साफ महिला च्याम्पियनसीप: घरमै उपाधि राख्छौं

जनसम्मत
भाद्र २०, २०७९, सोमबार

नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको उपाधि जित्नका लागि प्रयास गर्नेे बताएकी छिन्।

काठमाण्डौमा आज (सोमवार) आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले त्रिपुरेश्वरको दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उपाधि जित्नलाई प्रयास गर्ने बताइन्।

नेपालले भोलि (मंगलवार) उद्घाटन खेलमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा चोट बोक्दै बाहिरिए पनि कप्तानको आर्मब्याड पाएकी एन्जिलाले घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै खेल्ने र उपाधि जित्न प्रयास गर्ने बताउँछिन्।

नेपाली टोलीका प्रशिक्षक कुमार थापाले विगतमा भएको कमजोरी घटाएर राम्रो फुटबल खेल्दै उपाधि जित्ने लक्ष्य लिएको बताए।

हालसम्म सम्पन्न साफ च्याम्पियनसीपका खेलमा नेपाल भुटानसँग पराजित भएको छैन। भुटानकी प्रशिक्षक क्युङ सुक होङले प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको र केही दिनको नेपालको अभ्यास खेलबाट टोलीमा मनोबल उच्च रहेको बताइन्। टोलीकी कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा नेपालको सामना गर्न सहज नहुने बताएपनि प्रतिस्पर्धात्मक खेल हुने बताइन्। नेपाली समर्थक माझ खेल्न मानसिक रूपमा कठिन हुने र अनुभव कम भएपनि राम्रो खेल्न प्रयास गर्ने उनको भनाई छ।

यस्तै, अन्य टोलीले पनि साफ महिला च्याम्पियसीपका लागि तयारी राम्रो गरेको र प्रतिस्पर्धात्मक खेलका लागि तयार रहेको प्रतिक्रिया दिएका छन्।

मंगलवार हुने प्रतियोगितामा पाकिस्तान ८ वर्षपछि सहभागिता जनाउँदैछ। यो संस्करणमा साफका सबै देशले सहभागिता जनाउँदै छन्। दक्षिण एसियाका ७ वटै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले २ समूहमा विभाजन गरी नकआउटको आधारमा खेलाउँदैछ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी ७ देशले प्रतिस्धपर्धा गर्नेछन्। समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान छन्। समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन्। प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।