नागरिकता विधेयक फेरि राष्ट्रपतिकहाँ पठाइयो

जनसम्मत
भाद्र २०, २०७९, सोमबार

सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सुझावसहित संसद्मा फिर्ता भएको नागरिकता विधेयक सभामुख सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका हुन्।

राष्ट्रपतिले फिर्ता गरेको विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट जस्ताको तस्तै पारित भएपछि सभामुख सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका हुन्।

यसअघि, राष्ट्रपति भण्डारीले गएको साउन २९ गते नागरिकता विधेयक फिर्ता गरेकी थिइन्। तर, त्यसको २ दिनपछि सत्तारूढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै पास गर्ने निर्णय गरेको थियो।

त्यसपछि भदौ २ गते औपचारिकता पुर्‍याउन छलफल गरेर प्रतिनिधि सभाले विधेयक पास गरेको थियो। त्यसपछि राष्ट्रिय सभामा पुगेको विधेयक सभाले विधायन समितिमा पठाएको थियो। त्यहाँ पनि विधेयक संशोधन भएन।

अब संघीय संसद्बाट दोस्रो पटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ।