सरकारले ल्याएको ‘नियन्त्रणमुखी विधेयक’विरुद्ध पत्रकार महासंघले बनायो संघर्षका कार्यक्रमहरु

नेपाल पत्रकार महासंघको आकस्मिक बैठक

जनसम्मत
वैशाख २७, २०७६, शुक्रबार

पोखरा । सरकारले ल्याएको सरकारले ल्याएको ‘नियन्त्रणमुखी मिडिया काउन्सिल विधेयक’विरुद्ध नेपाल पत्रकार महासंघले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।

राजधानीमा उपलब्ध महासंघका केन्द्रीय पदाधिकारी र सदस्यहरुको शुक्रबार सम्पन्न बैठकले प्रस्तावित विधेयक विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

विरोधका कार्यक्रम अनुसार, २९ बैशाखमा महासंघका पूर्व पदाधिकारी, संचारमाध्यमका सम्पादक, कानूनविद र विज्ञहरुसँग छलफल हुनेछ भने ३० बैशाखमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

यसैगरी, ३१ बैशाखका दिन संसदका सम्वन्धित समितिका सभापति र सदस्यहरुसँग छलफल, १ जेठमा कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने, महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच बृहत छलफल कार्यक्रम आयोजना गर्ने र ३ जेठमा काठमाडौँमा संसद वाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

मन्त्री परिषदवाट पारित भई संसदमा २६ बैशाखमा दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयक आफू र प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना संसदमा दर्ता गरिएको आरोप लगाउँदै महासंघले विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघको ठहर छ।

बैठकले भनेको छ, ‘महासंघ उक्त विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्वन्धी अन्तराष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग जोडदार माग गर्दछ।’

संसदमा विचाराधिन अवस्थामा रहेका विज्ञापनसम्वन्धी ऐन र सूचना प्रविधिसम्वन्धी ऐनमा राखिएको प्रेस स्वतन्त्रता विरोधी दफा सच्चाउन समेत महासंघले माग गरेको छ । मस्यौदा हुँदै गरेका आम सञ्चार ऐन र सार्वजनिक सेवा प्रसारण ऐनका सम्वन्धमा सबै सरोकारवाला पक्षसँग छलफल र सहमति कायम गर्न पनि उसले आग्रह गरेको छ ।

‘यी कानूनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोग, संरक्षण र संवद्र्धनका लागि महासंघ सरकार र सम्वद्ध सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ महासंघले भनेको छ ।

केन्द्रीय समितिको आकस्मिक बैठक अघि महासंघको आयोजनामा सञ्चार सम्वद्ध विभिन्न संघ, संगठन र संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग संयुक्त बैठक भएको थियो । सो बैठकबाट प्राप्त सुझाव समेतका आधारमा मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध महासंघले विरोधका कार्यक्रम तय गरेको जनाइएको छ ।

बैठकमा प्रेस काउन्सिल नेपालका कार्यावाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रगतिशिल पत्रकार संगठनका अध्यक्ष नारायण शर्मा, जनपत्रकार संगठनका प्रकाश डुम्रे, सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष सुबास खतिवडा लगायतले विधयेक ‘नियन्त्रणमुखी’ भन्दै फिर्ता गराउनुको विकल्प नरहेको बताए ।