साफ महिला च्याम्पियनसीप: भारतले पाकिस्तानलाई फराकिलो गोल अन्तरले हरायो

जनसम्मत
भाद्र २२, २०७९, बुधबार

साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज (बुधवार) भएको पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको छ।

दशरथ रंगशालामा भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलले हरायो। ५ पटकको उपाधि विजेता भारतले २१ औँ मिनेटमा पाकिस्तानकी कप्तान मारिया जमिला खानको आत्मघाती गोलबाट अग्रता लिएको थियो।

त्यसको २ मिनेटपछि ग्रेसले गरेको गोलबाट भारतले अग्रता दोब्बर बनायो। इन्जुरी समयमा सौम्याले अर्को गोल थपेपछि भारतले सहजै ३ अंक जोडेको हो।

पाकिस्तान र भारत दुवैले फिफाको प्रतिबन्ध फुकुवा भएपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका हुन्। पाकिस्तानको महिला टोली ड वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको हो। भारत पनि फिफाबाट ११ दिनको प्रतिबन्धपछि फुकुवा भएको हो। प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।

हिजो मंगलवारदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई ४–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो।