साफ यु–१७: नेपाल सेमिफाइनलमा

जनसम्मत
भाद्र २३, २०७९, बिहीवार

साफ १७ वर्षमुनिको च्याम्पियनसीप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ।

श्रीलंकामा गएराति भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको हो।

कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालका उनेश बुढाथोकी र सिमान्त थापाले १/१ गोल गरे। भुटानका जेत्सुन दोर्जीले १ गोल फर्काए। खेलको १३औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। सिमान्तले खेलको ५७ औँ मिनेटमा गोल थपे।

खेलको ६८ औँ मिनेटमा भुटानका दोर्जीले १ गोल फर्काए पनि त्यसपछि गोल थप्न नसक्दा पराजित भयो। जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ। लगातार २ खेल हारेको भुटान प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि, भुटान भारतसँग ३–० गोलले पराजित भएको थियो।

अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेल भोलि भारतसँग खेल्नेछ। यो खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ।