महारानी एलिजाबेथका निधनपछि अब उत्तराधिकारीका रुपमा राजा चाल्र्स तृतीय

जनसम्मत
भाद्र २४, २०७९, शुक्रबार

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन भएको छ।

बेलायतमा ७० वर्ष लामो समयसम्म गद्दीमा रहेकी महारानी द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको हो।

’आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ’ विज्ञप्ति जारी गर्दै बकिंघम दरबारले भनेको छ ’राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज (शुक्रबार) बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन्।’

चिकित्सकहरूले महारानीलाई चिकित्सकीय निगरानीमा राखेपछि उनका सबै सन्तानहरू एबरडीन नजिकैको बाल्मोरलमा गएका थिए। महारानीको निधनको घोषणा हुँदा उनको नाति राजकुमार विलियम पनि त्यहाँ थिए भने अर्का नाति राजकुमार ह्यारी बाटोमा नै रहेका थिए।

महारानी द्वितीयाबाट मंगलबार मात्रै पदभार ग्रहण गरेकी ब्रिटेनकी प्रधानमन्त्री लिज ट्रसले ’महारानी आधुनिक ब्रिटेन निर्माण भएको चट्टान जस्तै भएको र उनले हामीलाई आवश्यक स्थीरता र शक्ति प्रदान गरेको’ बताएकी छन्। उनको निधनपछि उनका जेठा छोरा चाल्र्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन्।

’हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छौँ’ राजा चाल्र्सले एक विज्ञप्ती जारी गर्दै भने ’मलाई थाहा छ, उनको अभाव देशभरी नै अनुभव गरिनेछ र राष्ट्रमण्डलका देशहरूमा पनि । साथै संसारभरीका अनगिन्ती मानिसहरूले पनि उनको अभाव महसुस गर्नेछन्।’

एजेन्सी