नवौं राष्ट्रिय खेलकुद: क्रिकेटमा एनआरएनएको विजयी सुरुवात

जनसम्मत
भाद्र २३, २०७९, बिहीवार

एनआरएनए एकेडेमीले नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गतको पुरुष क्रिकेटमा विजयी सुरुआत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराएको हो।

एनआरएनएले दिएको ७५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर मात्र ६२ रन बनायो।

वर्षाका कारण ढिला सुरु भएको खेल ६ ओभरमा झारिएको थियो। सुदूरपश्चिमका लागि खडक बोहराले सर्वाधिक १२ रन बनाए भने राजु रिजालले ११ रन जोडे। यता एनआरएनएका लागि आशिष पोखरेल र दिपक क्षेत्रीले ३/३ विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एनआरएनएले ६ ओभरमा ४ विकेट गुमाएर ७४ रन बनाएको थियो । एनआरएनएका लागि सागर पुनले अविजित ४६ रन बनाए। कप्तान सुनाम गौतमले २४ रन बनाए।

यता सुदूरपश्चिमका लागि हेमन्त धामी र शेर मल्लले २/२ विकेट लिए। जितसँगै एनआरएनएले पहिलो खेलमै २ अंक जोडेको छ। प्रतियोगिता अन्तर्गत मूलपानी क्रिकेट मैदानमा तय भएको दुबै खेल रद्द भएको थियो। यता, त्रिवि क्रिकेट मैदानमा हुने भनिएको दोस्रो खेलपनि टस नगरिकनै सकिएको थियो।

प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय १ एनआरएनएको टोली गरी ११ टोलीको सहभागिता छ।