माओवादीलाई नै पहिलो वामपन्थी शक्ति बनाउँछौं : प्रचण्ड

जनसम्मत
भाद्र २४, २०७९, शुक्रबार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने दाबी गरेका छन्।

उनले स्पष्ट पारे, ‘माओवादी केन्द्रलाई नै देशको पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको हो।’

अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय सम्मेलनको (शुक्रबार) पोखरामा उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी तालमेल गर्न आफूले खोजेको बताएका हुन्। आउँदो मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति बनाएरै छाड्ने प्रचण्डको स्पष्टोक्ति छ।

उनले भने, ‘हाम्रो लक्ष्य के छ भने प्रदेश र संघको निर्वाचनमा जाँदा गठबन्धनमा तालमेल पनि यसरी होस् कि माओवादी केन्द्र देशको पहिलो वामपन्थी कम्युनिष्ट पार्टी बनोस्। र देशकै निर्णायक राजनीतिक शक्ति बनोस्। हामी यही ढंगले तालमेल गर्न खोज्दैछौँ।’