साफ यु–१७: भारतलाई ३–१ ले हराउँदै नेपाल समूह विजेता

जनसम्मत
भाद्र २४, २०७९, शुक्रबार

साफ यु–१७ च्याम्पियनसीप फुटबलमा नेपालले भारतलाई हराएको छ।

श्रीलंकाको कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हरायो।

नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले १/१ गोल गरे।

भारतका लागि ड्यानी मेतीले गोल गरे। १–० ले पछि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गर्दै जितको नतिजा निकालेको हो।

यो जितसँगै समूह ’बी’ मा नेपाल २ खेलबाट ६ अंकसहित समूह विजेता बनेको छ। भारत २ खेलबाट ३ अंक जोडर उपविजेता बनेको छ। दुवै टोली सेमिफाइनल प्रवेश गरेका छन्।

यसअघि, नेपालले पहिलो खेलमा भुटानलाई २–१ गोलले हराएको थियो। भारतले पनि भुटानलाई ३–० गोलले हराएको थियो। दुवै खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिर भइसकेको छ।

अब नेपालले सेमिफाइनलमा आउँदो सोमवार श्रीलंका वा माल्दिभ्सबीचको खेलको विजेतासँग खेल्नेछ। भारतले भने सेमिफाइनलमा सोमवार नै समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ।